युवराज विष्ट

भोजपुर । प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा भोजपुर टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका स्थानीयबासी जुटेका छन् । उनीहरुले स्थानीयस्तरमा पाईने कच्चा पदार्थ प्रयोग गरेर भुकान अर्थात फोहोर फाल्ने टोकरी निर्माण गरेर घर–घरमा तथा सार्वजनिक स्थलमा राख्न थालेका हुन् ।

Advertisement

फोहोर तथा प्लास्टिकजन्य फोहोर व्यवस्थापन गर्न भुकानलाई स्थानीयस्तरमा पाईने बाँस, निगालो, मालिंगो लगायत प्रयोग गरेर निर्माण गर्दै आएको संघ १८ वर्ष पुगेको अवसरमा वातावरण सचेतना कार्यक्रम गरेको छ । प्लास्टिकजन्य वस्तुलाई जथाभाबी फाल्दा वातावरण प्रदूषण हुने साथै फोहोर राख्नका लागि पनि धातु तथा प्लास्टिकबाट बनेको भुकान अर्थात फोहोर फाल्ने टोकरी बजारबाट किनेर प्रयोग गर्ने प्रचलन रहेकाले स्थानीय स्रोत र साधनबाट बनेका सामाग्रीको प्रवद्र्धन गर्न आवश्यक रहेको स्थानीय समाजसेवी तथा संगम जडीबुटी उद्योगका सञ्चालक संगम राईले बताए ।

राईले भुकानको विस्तार गर्दै वातावरणीय क्षेत्रको सरसफाईमा जुट्दै आएको सिक्की संघ नेपाललाई संगम जडीबुटी उद्योगको तर्फबाट दश हजार रुपैयाँ सहयोग गरे । उनले भने–‘हाम्रो तिम्मामा विगत १८ वर्ष अघिदेखि वातावरण स्वच्छ बनाउँनका लागि घर तथा सार्वजनिक ठाउँमा भुकानको निर्माण गरेर राख्ने गरेका छौं, जुन भुकान स्थानीय स्तरमा यहाँकै कच्चा पदार्थबाट बन्ने भएकाले सहज रुपमा सड्ने हुन्छ, सस्तो हुन्छ । तर यसको प्रचारप्रसार हुन सकेको छैन, अन्य ठाउँमा पनि यस्तो चेतना फैलाउने हाम्रो लक्ष्य छ, आ–आफ्नो ठाउँबाट वातावरण संरक्षणमा जुट्न आवश्यक छ ।’

सिक्की संघ नेपालका अध्यक्ष निरकुमार राईले आफूले संघको स्थापना गरेर वातावरणको विकासमा जुटेको बताए । उनले आफैंले बनाएर संघका लागि २१८ वटा भुकान वितरण गरेको जानकारी दिए । उनले भने–‘हाम्रो संघले वातावरण संरक्षणका लागि यस ठाउँमा विभिन्न सचेतनाका कार्यक्रम गरिरहेको छ, स्थानीय सरकार तथा स्थानीय नागरिकको साथ छ, यसलाई सम्पूर्ण क्षेत्रमा विकास गर्ने हाम्रो लक्ष्य छ, स्थानीयस्तरमा बनाउन सकिने भुकानका फाईदा धेरै छन् । हामीले गाउँटोलमा भुकान राख्नुपर्छ भन्ने सचेतना दिएसँगै प्लास्टिकजन्य फोहोर यत्रतत्र छरिएको देख्न पाईदैन ।’

कार्यक्रममा बोल्दै वडाध्यक्ष नरबहादुर राईले सिक्की संघले गरिरहेको काममा वडा कार्यालयले पनि सहकार्य गरेर वातावरणीय सरसफाईमा जुट्ने बताए । वडाध्यक्ष राईले भने–‘वातावरणको संरक्षणमा वडा कार्यालयले पनि विभिन्न खालका सचेतनाका कार्यक्रम गरिरहेको छ, यो संघले गरिरहेको काममा वडा कार्यालयले केही सहयोग गरिरहेको छ, यसको उद्देश्य राम्रो रहेकाले आामी दिनमा थप सहकार्य गर्ने वडाको योजना छ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!