संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

उदयपुर । उदयपुरमा बालबिबाह गरेको आरोपमा दुई जोडी बेहुला–बेहुलीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाल विवाह गरेको आरोपमा त्रियुगा नगरपालिका–३ भुल्केका पुष्प कोईरालाका २३ बर्षीय छोरा अश्विन र ताप्ली गाउँपालिका–५ आदमाराका खेचरबहादुर खड्काकी १७ बर्षीया छोरी गोमालाई प्रहरीले पक्राउ गरेको छ ।

मंसिर १९ गते राधा खड्काको घरमा उनीहरुको विवाह भएको थियो । बाल बिबाह भएको जानकारी आएपछि प्रहरीले बेहुला–बेहुलीसहित अभिभावकलाई पनि पक्राउ गरेको हो । बेहुलीको असहमतिमा विवाह भएपछि घटना बाहिरिएको उदयपुरका प्रहरी प्रवक्ता डिएस्पी देवप्रसाद गौतमले संगालोखबरलाई बताए । ‘बेहुलीले नै प्रहरीलाई खबर गरेपछि वाल विवाह गर्ने/गराउँनेलाई पक्राउ गरेका हौं ।’, डिएस्पी गौतमले भने ।

Advertisement

त्यस्तैगरी, आफुखुसी बाल बिवाह गर्ने एक जोडी पनि पक्राउ परेका छन् । वाल विवाह आरोपमा उदयपुरगढी गाउँपालिका–६ भुमरेका लिलबहादुर खड्काको १८ बर्षीय छोरा दुर्गाबहादुर र त्रियुगा नगरपालिका–१६ सुकौरा काभ्रेभन्ज्याङका टंकबहादुर कार्कीको १७ बर्षीया छोरी खेली पक्राउ परेका हुन् । मंसिर ३० गते उनीहरुले उदयपुरगढी–६ स्थित काभ्रेपानी मन्दिरमा आफु खुसी सिन्दुर पोते गरेका थिए । बिहेपछि उनीहरु नेपालटारस्थित आफन्तकोमा बस्दै आएका थिए । वाल विवाहको विषयमा स्थानीय एक सस्थाका प्रतिनिधिले खबर गरेपछि प्रहरीले जोडीलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुविरुद्ध मुद्दा दायर गरेर कारबाही प्रकृया अघि बढाईएको डिएस्पी गौतमले जानकारी दिए । नेपालमा २० बर्षभन्दा कम उमेरमा विवाह गर्न नपाउँने प्रावधान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!