संगालोखबर सम्वाददाता

धनकुटा । बिभिन्न स्थानबाट हराएका र चोरी भएका ९ वटा मोवाईल फेला परेर जिल्ला प्रहरी कार्यालयले सम्बन्धित धनीलाई फिर्ता दिएको छ । सम्बन्धित मोवाईल धनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर मोवाईल फिर्ता दिईएको हो ।

Advertisement

मोवाईल फिर्ता पाउँनेमा धनकुटा–७ का फुलमाया शेर्पा, प्रितिका राई, गणेश श्रेष्ठ, प्रदिप राई, धनकुटा–८ का डिकराम राई, पाख्रीबास–५ का बिमनसिंह तामाङ, पाख्रीबास–८ का प्रकाश तामाङ, धनकुटाका सरिता राई र सुनसरीको ईनरुवा–१ का लास्की बाबु आचार्य छन् ।

बिभिन्न स्थानबाट मोवाईल हराएको र चोरी भएको निवेदन प्राप्त भएपछि खोजतलास गरी मोवाईल भेट्टाएर सम्बन्धित धनीलाई बुझाईएको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले जानकारी दिए । ‘पाँच बर्ष अघि हराएको मोवाईल पनि हामीले फेला परेका छौं ।’ एसपी अधिकारीले संगालोखबरसँग भने– ‘फेला पारेर बुझाईएका अधिकांस मोवाईलहरु एक बर्ष भन्दा पहिले नै हराएका थिए । प्रविधिको प्रयोग गरी खोजी गरेर भेट्टाएपछि सम्बन्धित धनीलाई बोलाएर मोवाईल फिर्ता दिएका हौं ।’

मोवाईल हराएपछि सम्बन्धित मोवाईल धनीले खोजतलासका लागि प्रहरी कार्यालयमा निवेदन दिएका थिए । मोवाईल सेटको आईएमईआई नम्बरका आधारमा नेपाल टेलिकमको सहायता लिएर प्रहरीले हराएको मोवाईल फेला पार्ने गरेको छ । हराएको वा चोरी भएको मोवाईल प्रयोग गरिरहेको व्यक्तिको पहिचान गरी प्रहरीले मोवाईल फिर्ता लिने गरेको छ । चोरी भएका मोवाईलमा सिम परिवर्तन गरेर चलाईरहेको अवस्थामा मोवाईल फेला पर्ने गरेका छन् । केही महिना अघि पनि धनकुटा प्रहरीले हराएका र चोरी भएका १६ वटा मोवाईल फेला परेर सम्बन्धित धनीलाई बुझाएको थियो ।

विगत पाँच महिनाको अवधिमा धनकुटा प्रहरीले २९ वटा मोवाईल फेला पारेको छ । भेटिएका मध्ये २५ वटा मोवाईल सम्बन्धित धनीलाई बुझाईएको छ भने बाँकी चार वटा बुझाउँने प्रकृयामा रहेको प्रहरीले जनाएको छ । फेला परेका अधिकांस मोवाईल प्रतिगोटा सरदर १५ हजार भन्दा बढी मूल्यका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!