संगालोखबर सम्वाददाता

धनकुटा । जापान नेपाल मैत्री परिषद्ले धनकुटाको महालक्ष्मी नगरपालिकाका चार विद्यालयका ८७ जना विद्यार्थीलाई शैक्षिक र स्वास्थ्य सामाग्री प्रदान गरेको छ। महालक्ष्मी–९ स्थित राम माध्यमिक विद्यालय, सिंहदेवी माध्यमिक विद्यालय, मुर्तीमहेश्वर माध्यमिक विद्यालय र महालक्ष्मी–८ स्थित रामवेनी आधारभूत विद्यालयका छात्र–छात्रालाई सामाग्री प्रदान गरिएको हो ।

Advertisement

राम माध्यमिक विद्यालयको ६४ औं बार्षिकोत्सवको अवसरमा बुधबार चार वटै विद्यालयका विद्यार्थीलाई सामाग्री हस्तान्तरण गरिएको हो । एक बर्षसम्म लेख्न पुग्ने कापी, कलम, १/१ बट्टा सेनिटाईजर र १/१ प्याकेट मास्क प्रदान गरिएको राम मा.वि.का प्रधानाध्यापक एन्नरसिंह अधिकारीले जानकारी दिए ।

महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल, महालक्ष्मी–९ का वडाध्यक्ष बोधनाथ काफ्ले, नगरका शिक्षा शाखा प्रमुख पुष्प बहादुर कटुवाल, जापान नेपाल मैत्री परिषद्का अध्यक्ष चन्द्र भण्डारी, राम मा.वि.का विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीमशंकर अधिकारी लगायतले विद्यार्थीहरुलाई सामाग्री हस्तान्तरण गरेका हुन् । जापान नेपाल मैत्री परिषद्ले हरेक बर्ष विद्यार्थीहरुलाई विभिन्न सामाग्री प्रदान गर्दै आएको छ ।

कार्यक्रममा बोल्दै मेयर नेपालले विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधार गर्दै अघि बढ्नु पर्ने आवश्यकता औंल्याउँदै सुधारका लागि नगरपालिकाले सहयोग र हातेमालो गर्ने प्रतिबद्धता जनाए । जापान नेपाल मैत्री परिषद्का अध्यक्ष भण्डारीले कोरोनाको महामारीका बेला स्वास्थ्य सावधानी अपनाउँदै पठन–पाठन गर्ने वातावरण मिलाउँन सहयोग गरेको बताए ।

यसैबीच बार्षिकोत्सवको अवसरमा राम मा.वि.ले विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । कक्षा १ देखि १० सम्मका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्नुका साथै ८ कक्षाका उत्कृष्ट छात्र–छात्रा र एसईईका उत्कृष्ट तीन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको विद्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!