- संगालोखबर सम्वाददाता

बिराटनगर । बिराटनगरका तीन वटा अस्पतालका डाक्टरसँग अब अनलाईनबाटै स्वास्थ्य परामर्श लिई उपचार गराउँन सकिने भएको छ । बिराटनगर अस्पताल, लाईफगार्ड अस्पताल र श्रीराम डेन्टल क्लिनिकमा अनलाईनकै माध्यमबाट पनि उपचार सेवा पाउँने व्यवस्था मिलाईएको हो ।

Advertisement

‘क्यूरा हेल्थ’ नामक एण्ड्रोईड एप्लिकेशन डाउनलोड गरेर बिरामीले डाक्टरसँग प्रत्यक्ष कुराकानी गरी घरमै बसेर पनि उपचार सेवा लिन सक्नेछन् । तीन वटै अस्पतालका प्रतिनिधिहरुको उपस्थितीमा क्यूरा हेल्थले बुधबार बिराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रबिधिको बिकाससँगै अनलाईन माध्यमबाट उपचार गर्ने व्यवस्था मिलाईएको जानकारी दिईएको हो ।

बिराटनगरका डेनिस कार्की, रजत अग्रवाल, आयुश भगत र जयश्री जाजुले संयुक्त रुपमा यो एप्लिकेशन सञ्चालन गरेका हुन् । सो एप्लिकेशन डाउनलोड गरेर बिरामीले आफ्नो समस्या सम्बद्ध डाक्टरसँग म्यासेज, अडियो र भिडियो कलमार्फत पनि स्वास्थ्य परामर्श लिन सक्ने क्यूरा हेल्थका सञ्चालक आयुश भगतले जानकारी दिए । ‘हामीले डाक्टरहरुको सम्पूर्ण विवरण एप्लिकेशनमा राखेका छौं । डाक्टरको उपयुक्त समय मिलाएर त्यहीबाट स्वास्थ्य परामर्श लिन पनि सकिन्छ ।’ उनले भने–‘सम्बन्धित अस्पतालमै गएर उपचार गराउँनका लागि पनि डाक्टरसँग भेट्ने समय एपबाटै निश्चित गर्न सकिन्छ ।’

बिरामीले भेट्न चाहेको डाक्टरसँग एप्लिकेशनमार्फत समय ‘बुक’ गर्न सक्नेछन् । र, तोकिएको समयमा अस्पताल पुगेर उपचार गराउँन सक्ने बिराट अस्पतालका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका एप्लिकेशन सञ्चालक डेनिस कार्की बताउँछन् । उनी भन्छन्–‘अनलाईनबाटै समय निश्चित गरेर अस्पताल जान सकिने भएकाले अस्पताल पुग्दा आफुले खोजेको डाक्टर नभेटिने वा पालो कुर्नुपर्ने समस्या हुदैन ।’

कोरोनाको महामारीका बेला उपचारका लागि यो एप्लिकेशन थप प्रभावकारी हुँने अर्का सञ्चालक रजत अग्रवालको तर्क छ । कार्यक्रममा एपका सञ्चालक जयश्री जाजुले बिरामीको आवश्यकता अनुसार सेवा थप प्रभावकारी बनाउँदै लगिने भएकाले सल्लाह सुझाव दिन आग्रह गरिन् । अहिले तीन वटा अस्पतालका डाक्टरमात्र यो एप्लिकेशनमा उपलब्ध रहेको भएपनि आगामी दिनमा अन्य अस्पतालका डाक्टरलाई पनि यसमा समावेश गरिने बताईएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!