- पत्रपत्रिका खवर

विराटनगर । ‘टिनको छानो भएको पक्कीघर पाउँदा खुशी छु, तर शौचालय नभएकाले त्यति नै दुःखी पनि छु’, मोरङ ग्रामथान गाउँपालिका–७ की प्रमिलाकुमारी चौधरीले भनिन्–‘दिउँसो त खासै समस्या हुँदैन । बेलुका दिसा गर्न जानुपरे दुई जनालाई सँगै लिएर खोलाको डिलमा जानुपर्ने बाध्यता छ ।’

Advertisement

ग्रामथान गाउँपालिका–७ मा हालै हस्तान्तरण गरिएको नमूना वस्ती टोल विकास समितिकी अध्यक्ष वासोदेवी माझीले घर पाए पनि शौचालय नभएकाले वस्तीमा बसोबास गर्ने आउनेलाई समस्या भएको सुनाइन् । उनले भनिन्–‘वस्तीको दक्षिण र पश्चिम भएर बग्ने शिशवा टोकी खोलाको डिलमा दिसापिसाब गर्न आधा किलोमिटर जानुपर्ने बाध्यता छ । घर निर्माणसँगै शौचालय समेत निर्माण गरेर हस्तान्तरण गरदिएको भए धेरै खुशी हुने उनको भनाइ छ । त्यैपनि झोपडीको वासभन्दा पक्कीघर पाउनु राम्रै भएको उनी बताउँछिन् ।

बरु झुपडीघर हुँदा शौचालय भएको स्थानीय गीता चौधरी बताउँछिन् । अहिले पक्कीघर पाएपछि पनि यो छैन र त्यो छैन भन्न आफूहरूलाई सकस भएको उनले बताइन् । धैरे पहिले खुल्ला दिसामुक्त घोषणा भएको ग्रामथान गाउँपालिकामा बिपन्नहरूका लागि निर्माण गरिएको एकीकृत नमूना वस्ती शौचालय बिना नै विपन्नलाई गएको शुक्रबार हस्तान्तरण गरिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ३४ वटा विपन्न परिवारलाई तीन कोठे घर शुक्रबार हस्तान्तरण गरेका हुन् ।

शौचालय, विद्युत र खानेपानीको प्रबन्ध विना नै हतारोमा निर्माण सम्पन्न नगरी हस्तान्तरण गरिदा बस्तीमा बसोवास गर्न पुगेका स्थानीयहरूले सास्ती भोग्नुपरेको छ । ग्रामथान–७ मा तराई मधेस समृद्ध कार्यक्रम, स्थानीय पूर्वाधार विकास कार्यक्रम र गाउ“पालिकाको संयुक्त लगानीमा खदरा खोलाको किनारमा रहेको ऐलानी जग्गामा उक्त वस्ती निर्माण गरिएको हो ।

मधेस समृद्ध कार्यक्रमको ६७ लाख ९ हजार १ सय ६६, स्थानीय पूर्वाधार विकास कार्यक्रमको १ करोड १९ लाख ८६ हजार ९५ र गाउँपालिकाको १ करोड २७ लाख ४५ हजार ७ सय ७३ हजार गरी कूल ३ करोड ४ लाख ४१ हजार ३४ रुपैयाँ लागतमा ३६ वटा घरमध्ये ३४ वटा निर्माण भएर हस्तान्तरण गरिएको छ । दुई वटा घर अझै बन्न बाँकी छ । गाउँपालिका अध्यक्ष शिवनारायण माझीले अन्य जनप्रतिनिधिहरूसँग समन्वय नै गरी वस्ती हस्तान्तरणको अघिल्लो दिन वस्ती निर्माण भएको वडाध्यक्ष र उपाध्यक्षलाई जानकारी दिएर हतारमा हस्तान्तरण कार्यक्रम गरिएको हो ।

गाउँपालिकाकी उपाध्यक्ष फूलकुमारी चौधरीले जनप्रतिनिधिसँग सवन्वय नै नगरी पार्टी कार्यक्रम गरेर हतारमा घर हस्तान्तरण गरेको बताइन् । उनले भनिन्– ‘हतारमा पार्टीगत कार्यक्रम गरे जस्तो गरेकाले वसोवास गर्न आएका विपन्नलाई बस्न सास्ती छ ।हस्तान्तरण गर्नु एक दिनअघि मलाई जानकारी दिए, शौचालय निर्माण भएको छैन भन्दा पनि स्वागत भाषण दिन भनेकाले कार्यक्रममा भने गएँ ।’ तर मञ्चमा आउँदा स्वागत भाषण पनि गर्न नदिएको उनले बताइन् । वडा नम्बर ७ का अध्यक्ष रमेशकुमार माझीले आफूलाई कार्यालय सहयोगीमार्फत जानकारी दिइएको बताए । ‘हस्तान्तरण कार्यक्रम भएकाले आएँ तर वास्ता नै गरेनन्’ उनले भने ।

गाउँपालिका अध्यक्षको पार्टीआवद्ध नेताहरूलाई भाषण दिएर निर्माण सम्पन्न भएको घर हस्तान्तरण गरिएकाले उनी पनि असन्तुष्ट छन् । सुनसरी–मोरङ सिंचाइ आयोजनाको नहरको डिलमा बस्दै आएका सुकुम्वासीहरूलाई ती घरहरू बनाएको बताइएको छ । मुख्यमन्त्रीले घर हस्तान्तरण गरे पनि अहिलेसम्म धेरै घरमा ढोका, झ्यालमा ग्रिल, खानेपानी, विद्युत र सडक निर्माण नभएको स्थानीय उतिमचन्द सहनीले बताए ।

वस्तीमा प्रयोग भएको कमसल निर्माण सामग्री र मापदण्ड विपरीत कामले घरमा ढलान गरिएको भूइँ फुट्न थालेको बताइएको छ । फलामको ट्रष्ट र ढोकाको एंगल कमसल खालको कबाडीबाट ल्याएर रंगरोगनसमेत नगरी लगाएको पाइएको छ । गाउँपालिकाकी उपाध्यक्ष फूलकुमारी चौधरीले निर्माण कम्पनीको धरौटी रकम रोक्का राखेको र अनुगमन गरेपछि मात्रै फिर्ता दिने बताइन् ।

‘तत्काल अस्थायी शौचालय, खानेपानीका लागि ट्यूवेल जडान गर्छौं,’ उनले भनिन्, ‘उपभोक्ता समितिले गरेको कामको पनि अनुगमन गरेपछि मात्रै बाँकी रकम निकासा दिन्छौं ।’ कमसल काम भएको पाइएमा त्यहीअनुसारको कानूनी प्रक्रिया अघि बढाउने उनले बताइन् । नयाँ बनेको वस्तीमा शौचालन नै नभएको चाहिँ होइन । प्रत्येक घरमा शौचालय निर्माण भएको छ, तर त्यसलाई सेफ्टीट्यांकीमा जोड्न बाँकी छ ।

३४ घरमा करिव दुई सयको हाराहारीमा बसोवास रहेको छ । तिनीहरू सबैलाई वस्तीको दक्षिण र पश्चिम भएर बग्ने खोलाको डिलमा गएर शौच गर्नुपर्ने बाध्यता छ । गाउँपालिकाका अध्यक्ष शिवनारायण माझीले वस्तीमा वसोबास गर्ने स्थानीयले हतार गरेकाले तत्काल हस्तानन्तरण गरेको बताए । तिहार पछि हस्तान्तरण गर्ने योजना रहे पनि बसोवास गर्नेकै हतारले शौचालयको सञ्चालन बिना नै हस्तान्तरण गरेको उनले दावी गरे । -जितेन्द्र ठाकुरले लेखेको यो खबर आजको उद्घोष दैनिकमा छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!