- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरक्षेत्रका कोरोना संक्रमितको स्वास्थ्य अवस्था गंभीर भएर आईसीयूमा भर्ना भई उपचार गर्नु परेमा उपचार खर्च सहयोग गर्ने भएको छ । नगर कार्यपालिकाको बुधबार बसेको बैठकले आईसीयूमा उपचार गराउँनुपर्ने गंभीर अवस्थाका संक्रमितलाई उपचार खर्च वापत प्रतिव्यक्ति २५ हजारसम्म आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

Advertisement

स्वास्थ्य अवस्था गंभीर भएका बिरामीलाई आईसीयूमा राखेर उपचार गर्ने गरिन्छ । धनकुटा अस्पतालमासमेत आईसीयू नहुँदा जिल्लाका बिरामीहरुलाई आईसीयूमा राख्नु परेमा सुनसरी, मोरङका ठूला अस्पतालमा पुर्याउँने गरिएको छ । आईसीयूको उपचार खर्चिलो हुँने भएकाले नगरबासीको ज्यान बचाउँनका लागि उपचारमा केही मात्रामा भएपनि सहयोग गर्न लागिएको नगर प्रमुख पर्शुराम नेपालले जानकारी दिए । ‘कोरोना संक्रमण बढिरहेको छ । संक्रमितको स्वास्थ्य अवस्था जटिल भयो भने आईसीयूमा पनि राख्नुपर्ने हुनसक्छ ।’ नगर प्रमुख नेपालले भने–‘आईसीयूको उपचार खर्चिलो हुँने भएकाले बिरामीको परिवारलाई उपचार खर्च धान्न गाह्रो हुने हुँदा यस्तो बेलामा सहायता दिउँँ भनेर उपचार खर्च उपलब्ध गराउँन लागेका हौं ।’

कोरोना संक्रमितको उपचारमा केन्द्र सरकार पछि हटेका बेला स्थानीय सरकारको रुपमा रहेको नगरले महालक्ष्मीबासीलाई संकटमा साथ दिने निर्णय लिएको हो । त्यस्तै महालक्ष्मी नगरले लक्षणयुक्त नगरबासीहरुको पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएमा परीक्षण शुल्कमा ५० प्रतिशत रकम सहयोग गर्ने भएको छ । लक्षण देखिएकाहरुलाई नगरका स्वास्थ्यकर्मीले स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाउँछन् । संक्रमण पुष्टि भएमा पीसीआर ल्याबमा परीक्षण बापत लाग्ने शुल्कको आधा रकम नगरपालिकाले बेहोर्ने निर्णय भएको प्रमुख कार्यकारी अधिकृत सूर्य सुवेदीले बताए । अहिले सरकारले पीसीआर परीक्षण बापत २ हजार रुपैयाँ शुल्क तोकेको छ । नगरले आधा रकम बेहोर्ने भएकाले संक्रमण पुष्टि हुँने महालक्ष्मी नगरबासीले परीक्षणमा १ हजार मात्र खर्चिनुपर्ने भएको हो ।

नगरबासीको पीसीआर परीक्षणका लागि स्वाब संकलन किट (भीटीएम) को व्यवस्था पनि नगरपालिकाले नै मिलाउँने भएको छ । धनकुटामा पीसीआर ल्याब नभएकाले तराईका जिल्लाका ल्याबमा स्वाब पुर्याउँदा लाग्ने ढुवानी खर्च पनि नगरले नै बेहोर्नेछ । त्यस्तै संक्रमण पुष्टि भएका संक्रमितलाई अस्पताल लैजान एम्बुलेन्स निःशुल्क उपलब्ध गराउँने र संक्रमितको मृत्यु भएमा शव वाहन खर्चसमेत नगरपालिकाले नै बेहोर्ने नगर प्रमुख नेपालले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!