पत्रपत्रिका खवर

काठमाडौं । काठमाडौं उपत्यकाका सडकमा फोन गरेकै आधारमा सडकका खाल्टाखुल्टी पुरिन्छन् भन्दा धेरैलाई पत्यार नलाग्न पनि सक्छ । तर, सडक डिभिजन कार्यालय काठमाडौंले कसैले सडकमा खाल्टाखुल्टी परेको देखेर फोन गरेमा त्यसैका आधारमा पनि खाल्टाखुल्टी पुर्दै आएको छ ।

Advertisement

सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले पछिल्लो समय सर्वसाधारणले फोनबाट गुनासो टिपाएकै आधारमा पनि खाल्टाखुल्टी पुर्ने तथा सडक मर्मत गर्न थालेको जानकारी दिए । ‘फोन गरेर खाल्टाखुल्टी भएको तथा सडक बिग्रिएको टिपाएका आधारमा पनि हामीले समाधान गर्न थालेका छौं,’ उनले राजधानीसँग भने ।

काठमाडौं उपत्यकामा एक वर्षमा १० हजार बढी खाल्टाखुल्टी पुर्ने काम सम्पन्न भएसँगै डिभिजन कार्यालय काठमाडौंले अब फोनमा टिपाएको गुनासालाई पनि सम्बोधन गर्न थालेको हो । डिभिजन प्रमुख नेपालीले विगत एक वर्षमा १० हजारभन्दा बढी खाल्टाखुल्टी पुर्ने काम सम्पन्न भएको जानकारी दिए । यसअघि काठमाडौं उपत्यकामा खाल्टाखुल्टीका कारण सडकमा सवारी गुडाउन नमिल्ने अवस्था हुने गरेकामा अहिले भने सुधारिएको सर्वसाधारणहरू बताउँछन् । सरकारले सडकका खाल्टाखुल्टी पुर्नका साथै ओभर लेको कामलाई पनि उति नै महŒव दिएको पाइएको छ ।

डिभिजन कार्यालय काठमाडौंले गत आर्थिक वर्षमा ४२ किलोमिटर सडकको कालोपत्रे थप ‘ओभर ले’ को काम सक्ने लक्ष्य राखेकामा त्यो सम्पन्न गरेको छ । चालु आर्थिक वर्षमा पनि बिग्रेका सडकको मर्मत तथा ओभर लेको काम जारी रहने उनको भनाइ छ । विगतका वर्षमा पिच सडक खनेर महिनौंसम्म अलपत्र पार्ने चलन रहेकामा त्यो पनि सुधार भएको छ । डिभिजन प्रमुख नेपालीले यसपटक जथाभावी सडक खन्ने कामलाई कडाइ गरिएको जनाएका छन् । कुन निकायले कति सडक खन्ने हो र कति दिनमा काम सक्ने हो, त्यो स्पष्ट गरेर मात्र खाल्टो खन्न दिएको र त्यहीँअनुसार खाल्टो पुर्ने समय पनि निर्धारण गरेको उनले जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीबाट नियुक्त तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई हटाएर वसन्त नेम्वाङलाई नयाँ मन्त्री नियुक्त गरेपछि सडक पूर्वाधारको क्षेत्रमा कामले गति लिन थालेको हो । नेम्वाङले सडक मर्मत सम्भार तथा विस्तारको कामलाई उच्च प्राथमिकतामा राखेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन, निषेधाज्ञाको समयमा पनि काठमाडौं उपत्यकालगायतका स्थानमा सडक मर्मत सम्भारको कामले निरन्तरता पाएको थियो । – टेनिस रोकाले लेखेको यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!