- सरिता भट्टराई नेपाल

वैशाख महिना थियो । वसन्त ऋतुको आगमनसँगै गाउँ–घर हरियाली थियो । नयाँ वर्ष नयाँ उमंगले गाउँ घरमा रमाइलो छाएको थियो । गाउँभन्दा अलि पर देवीथानमा मेला लागेको थियो । गाउँघरका ठिटा–ठिटीहरु हाँसखेल गर्दै रमाउँदै मेलामा जाने आउने गरिरहेका थिए । सानीलाई भने भित्र–भित्रै अमिलो, नमिठो लागे जस्तो कता–कता नरमाइलो लागिरहेको थियो । उसले सोच्दै थिई बुबा माझाघरे काजीकोमा जानु भएको थियो । हजुरबुबाको पालादेखिको काजीको ऋण थियो । पुरानो घरखेत पनि माझाघरे काजीले नै लिएका थिए, त्यतिले नपुगेर हामी घरका बुबा, भाई बिदुर र म काजीकै घरमा काम गर्दैछौं ।

Advertisement

कति काम गर्दापनि बुबा काजीको ऋणवाट मुक्त नभएको देखेर परिवारमा आमा लगायत हामी सबै धेरै चिन्तित छौं । आज बुबालाई काजीले बोलाएका छन् ! किन बोलाएका हुन् भनि आश्चर्य लागिरहेको छ ! काजीले कहिले काही ‘तेरी छोरी सानीलाई अब तेरो घरबाट काम गर्न आउँदा टाढा हुन्छ, मेरै घरमा बसेर काम गर्छे ।’ भनिरहन्थे । त्यो सुनेर मलाई कताकता डर लागि रहन्थ्यो ।

आज पनि बुबालाई काजीले फकाउने त होइनन् ? मलाई अब काजीको घरमा नगई विद्यालयमा गएर पढ्न मन लागेको छ, मेरी साथी चम्पालाई भने जेठाबाले शहरमा लगेर पढाई रहेका छन् । मलाई पनि पढौं र केही गरौ भन्ने ठूलो इच्छा छ । तर के गर्नु ! गरिबको घरमा जन्मेर ठूलो सपना देख्न कहाँ पाइन्छ र ?

यसरी सानीले सोचिरहेको बेला उसको भाइ बिदुर ‘दिदी आज हामी पनि देविथानको मेला हेर्न जानु पर्छ ।’ भन्दै नजिकै आयो । सानीले पर्ख बुबा आएपछि सोधेर जानु पर्छ भनि ।

त्यसै बखत उनीहरूकी आमा गोमाले भित्र आओ भनि बोलाईन र भनिन् –‘हेर सानी तिमि पनि अब ठूली भयौ, भाई भने सानै छ । अहिले तिमीहरुले बुबालाई काजीको घरमा गै काम सघाएका छौ । तर काजीले हामीलाई यतिका वर्ष वितिसक्दा पनि कहिलै ऋणबाट मुक्ति दिएन । पापी रहेछ । तिमीहरुको हजुरबुबाले जोडेको घरखेत पनि लग्यो । यतिका वर्ष हामीले उसको घरमा काम गरेको पनि निकै भैसक्यो । तिमीहरुका बुबा पनि सानैदेखि उसकै घरमा काम गर्दै आएका छन् । मैले भने तिमीहरुले काम सघाएपछि छुटकारा पाएँ । आज बुबालाई अचानक काजीले बोलाएका छन्, किन हो कुन्नि ? कता-कता डर लागि रहेको छ । कतै यो सानो घर र पाखोवारी पनि काजीले लाने त होइनन् ? उसै त हामी दलित ! सानो जात ! गाउँ घरमा पनि दबिएर बस्नु पर्ने ! हामीले यो काजीबाट यो जन्ममा त छुटकारा पाउँदैनौ होला !’

त्यतिबेरै उनीहरुका बुबा धनबहादुर पनि टुप्लुक्क आइपुगे । उनको अनुहार निदाउरो थियो, चिटचिट पसिना पुस्दै शिरको टोपी भुँईमा राख्छन् । ‘गोमा अलिकति पानी खाँउ’ भन्दै खुइ …या गर्छन् । बुबाले अलिकति पानी पिउछन् र छोरीको हात समाउदै भन्छन ‘नानी हामी जातमा पानी सानो जात छाइछुइ गर्नु हुन्न, मन्दिरभित्र पस्न र ठूला जातका घरका दलिनमा जाँदासमेत होश पुर्याउनु पर्छ । सबैले हेला गर्छन, भाग्यले हामीलाई ठगेर दलित बनायो ! जिम्वालबाले चौतारामा गाउँका सबैलाई भेला गर्दा चुनावमा मैले जिते भने जात-पात छुवाछुतको अन्त्य गर्छु भन्थे । आज उनी शहरमा ठूला मान्छे भएका छन्, तर हाम्रो कुरा कसले सुन्ने ? आज माझाघरे काजीले बोलाएका थिए, म धेरै डराएको थिएँ तर उनी खुशी देखिन्थे, मलाई देख्ने बित्तिकै धने ! म आज तँदेखि धेरै खुसि छु, नयाँ वर्ष पनि लागेको छ, देविथानमा ठूलो मेला छ, अलिकति खर्च बर्च पनि दिन्छु तर एउटा शर्त मान्नु पर्छ भन्दै बाचा बन्धन बाँधे ।

उता मनमा डर बोकेर के गर्न आँटे काजीले भनि म डराई रहेको थिएँ । डराउँदै मर्जी होस् हजुर भने । उता काजीले हँसिलो अनुहार पार्दै तेरी छोरी सार्है राम्री छ मै राम्रो केटो खोजी बिहे गरिदिउँला, कजिनीलाई पनि दमको रोगले च्यापेको छ । तँलाई थाहा छदैछ नि मेरा छोरा छोरी सबै शहरमा छन्, सानी भोलिदेखि नै मेरै घरमा बसेर काम गर्छे, भकारो सोहोर्छे, भैंसी बाख्रा चराउछे, बिदुरे पनि अब आउनु पर्दैन भैगो, तेरो ऋण सबै मिनाहा भयो, भने । धेरै बिन्तिभाउ गर्दा पनि पापी काजी मानेनन् । काजीको नियत राम्रो छैन मेरो मन अमिलो भयो ।’ भन्दै आँखाभरि आँसु झार्दै छोरीलाई सुम्सुम्याए ।

गोमा, सानी, बिदुर धेरै बेर रोए । सानी बुझ्झकी थिई, सानैदेखि घरको पिरमार्का बुझेकी थिई । उसका बुबाको कुरा सुनेर उ जान तयार भई । उसले भनि ‘बुबा, म जाँदा काजीले सबै ऋण मिनाहा गरिदिन्छन् भने भैगो जान्छु र सकेको काम पनि गर्छु ।’ गोमा ! यति राम्री छोरीलाई अर्काको घरमा बेचेर पो आएँ ! भन्दै धन बहादुरले आँसु पुस्छन । ‘तँपाईले अलिक बिन्ती बिसाउनु पर्थ्यो नि त, कसरी ठूली भएकी छोरीलाई सधैको लागि पठाउनु ? हाम्रो घरको पिरमार्का बुझेकी भएकाले सानीले जान्छु भनेकी हो ।’ गोमाले भनिन् । धन बहादुरले भने ‘मैले काजीलाई धेरै गुहार गरें तर काजीको अगाडि मेरो केही सीप चलेन, आखिरमा काजीको जित र मेरो हार भयो, म परिबन्धमा परें ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!