- पत्रपत्रिका खवर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित गोदाममा रहेको लाखौं रुपैयाँबराबरको चामल कुहाउने कर्मचारीलाई उन्मुक्ति दिने तयारी गरेको छ ।

Advertisement

हुम्ला, जुम्ला, बाजुरालगायतका विकट जिल्लाका नागरिकले भोकभोकै बस्नु परिरहेको बेला अख्तियारले थापाथली गोदाममै ४ सय ८७ क्विन्टल २२ किलो बास्मती चामल कुहाउने कम्पनीका कर्मचारीलाई उन्मुक्ति दिन लागेको हो ।

कम्पनीका कर्मचारीको चरम लापरवाहीका कारण गोदाममै ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँबराबरको बास्मती चामल कुहिएको थियो । ३ मंसिर २०७६ मा चामल कुहिएको समाचार राजधानीले प्रकाशित गरेपछि अख्तियारले छानबिन सुरु गरेको थियो । तर, पछिल्ला दिनमा भने अख्तियार स्वयं नै आरोपित कर्मचारीलाई उन्मुक्ति दिन क्रियाशील भएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार १० महिना लामो अनुसन्धानपछि चामल कुहाउने कर्मचारीविरुद्ध अदालतमा मुद्दा दायरको तयारी भइरहेको बेला अख्तियार आफंै पछि हटेको छ । स्रोतका अनुसार अख्तियारले लाखौंको चामल कुहाउने कर्मचारीलाई उन्मुक्ति दिन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चामलको गुणस्तर परीक्षण गरी खानयोग्य नभएको प्रमाणित गरिसकेको चामललाई पुनः खाद्य कम्पनीलाई केही प्यारामिटर परिक्षण गरी ल्याउन भनेको छ ।

सो गोदामको चामल खान योग्न नभएको भन्दै १ पुस २०७६ मै ‘नष्ट गर्नुपर्ने’ भनेर मुचुल्कसमेत भइसकेको छ । सो चामल नष्ट गर्नुबाहेक विल्कप नरहेको अवस्थामा अख्तियारले कम्पनीका कर्मचारीलाई कारबाही हुनबाट बचाउन विभिन्न खेल खेलिरहेको स्रोतको भनाइ छ ।

कम्पनीले थोरै मुनाफा राखेर बिक्री गरेको भए यति ठूलो परिमाणको चामल गोदाममै कुहिने अवस्था आउने थिएन

स्रोतका अनुसार गोदाममा कुहिएको चामल नष्ट गर्दा कर्मचारीले सो चामलको क्षतिपूर्ति तिर्नु नपर्ने हुँदा कम्पनीका कर्मचारी र अनुसन्धानमा खटिएका अख्तियारका कर्मचारी सो मुद्दालाई ढाकछोप गर्न लागिपरेका हुन् । गोदामको चामल पूरै नष्ट गर्नुपर्दा लापरवाही गर्ने कर्मचारीले कम्पनीको गोदाममा कुहिएको चामलको ४० लाख ४३ हजार ९२६ रुपैयाँ क्षतिपुर्ति तिर्नु पर्नेछ । सो क्षतिपूर्ति तिर्नबाट बच्न खाद्यका कर्मचारीले अख्तियार कर्मचारीलाई प्रभावमा पारेका हुन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुगमन महाशाखा निर्देशक किशोर खत्रीले सिलबन्दी गरेको गोदामबाट चामल लिएर खाद्य कम्पनी एक्लैले चामल परीक्षण गर्न नमिल्ने बताए । उनले भने, ‘गोदाममा कुहिएको चामल १० वटा नमुना चेकजाँच गरेर खान योग्य नभएको प्रमाणित गरी विभागले अख्तियारलाई १० पुस २०७६ मै रिपोर्ट बुझाइसकेको छ । १० वटा नमुना फेल भइसकेको चामललाई फेरि पनि गुणस्तर चेकजाँच गर्नुको कुनै औचित्य छैन । यदि अख्तियारले अदालतमा पेस गर्न चामलको गुणस्तर चेक गर्न लागेको हो भने कम्पनी एक्लैको सहभागितामा लिएको नमुना चेकजाँचको अर्थ छैन ।’

उनले फेरि चामलको गुणस्तर चेक जाँच गर्नु नै पर्ने हो भने सबैको रोहवरमा गर्नुपर्ने बताए । कम्पनीका अनुसार आर्थिक वर्ष २०७२-७३ मा जनकपुर मिलबाट ल्याइएको करिब ५ हजार क्विन्टल चामलमध्ये ४८७ क्विन्टल २२ किलो बास्मती चामल कुहिएको हो ।

धान किन्दा र कुटाउँदासम्म कम्पनीको लागत प्रतिकिलो ६८ रुपैयाँ मात्र परेको थियो । सो चामल काठमाडौं आइपुग्दा प्रतिकिलो तीन रुपैयाँले ढुवानी भाडा जोड्दा ७१ रुपैयाँ हुन पुगेको थियो । कम्पनीले निजी व्यापारी जस्तै उपभोक्ताबाट बढी नाफा असुल्नका लागि चामलको प्रतिकिलो १३० रुपैयाँ मूल्य निर्धारण गरेको स्रोतको दाबी छ ।

कम्पनीले थोरै मुनाफा राखेर बिक्री गरेको भए यति ठूलो परिमाणको चामल गोदाममै कुहिने अवस्था आउने थिएन । कम्पनीले २०७२-७३ मा बिक्री गरेको प्रतिकिलो १३० रुपैयाँका दरले हिसाब गर्ने हो भने हाल थापाथली गोदाममा ६३ लाख ३३ हजार ८६० मूल्यको चामल कुहिएको स्रोतको भनाइ छ ।

थापाथलीस्थित गोदाम नम्बर २४ मा ३२३ दशमलव १७ क्विन्टल र ३० नम्बर गोदाममा १६४ दशमलव शून्य ५ क्विन्टल बास्मती चामल कुहिएको पाइएको छ । कम्पनीले सो बास्मती चामल प्रतिकिलो ८३ रुपैयाँका दरले बिक्री गर्दै आएको छ । प्रतिकिलो ८३ रुपैयाँका दरले हिसाब गर्दा ४० लाख ४३ हजार ९२६ रुपैयाँको चामल गोदामै कुहिएको छ । -कौशिला कुँवरले लेखेको यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

Please Subscribe to Sangalo Khabar Youtube Channel.
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!