
धनकुटा । धनकुटाको हिलेमा बुधबार लोपेड गाडी दुर्घटना भएको छ । संखुवासभाबाट धरानतर्फ जाँदै गरेको प्रदेश–२–०३ ००१ क.०५८४ नम्बरको लोपेड दिउँसो करिब ३ बजे हिले बजारमा दुर्घटना भएको हो । दुर्घटनामा मानबीय क्षति नभएको प्रहरीले जनाएको छ ।
सडक छोडेर डिलमुनी झरेको गाडी घरको भित्तामा ठोक्किएर रोकिएको छ । डिलमुनी झरेको गाडी घरमा ठोक्किएर अडिदा ठूलो दुर्घटना टरेको प्रत्यक्षदर्शी बताउँछन् । गाडी गुडिरहेका बेला चालकले गियर छेउमा भएको ज्याकेट निकाल्ने क्रममा अगाडि हेर्न ढिलाई हुँदा गाडी डिलमुनी खसेको बताईएको छ ।
सडक छेउको घरमा ठोक्किँदा गाडीको अगाडिको भागमा क्षति पुगेको छ । यता, गाडीले ठक्कर दिँदा घरमा पनि क्षति पुगेको घरधनीले बताएका छन् । घटनापछि चालक श्यामकुमार लम्साललाई हिले प्रहरीले नियन्त्रणमा लिएको छ ।



















