- चूडामणि रेग्मी

परीक्षा हलबाट निस्कनासाथ मैले उसलाई फोन गरे ।
“हेल्लो ! तिमी कहाँ छौ ?” मेरो प्रश्न ।
“गेट बाहिर छु ।” उसको जबाफ ।
परीक्षा लेखिसकेर बाहिर निस्कनेहरुको भिडबाट म स्कुलको गेटतिर लम्कदै थिए । वरिपरि थुप्रै मान्छेहरु थिए तर पनि म एक्लै भए झै कोहीसँग नबोली अघि बढेँ । परीक्षाका विषयमा समूह-समूहमा भएका छलपmलमा मैले कुनै चासो देखाइन । कोही परीक्षा बिग्रियो भन्दै थिए । कोही परीक्षा ठीकै भयो भन्दै थिए ।

Advertisement

मैले परीक्षाका विषयमा सुनेका यस्ता टिप्पणीहरुलाई सुने नसुने झै गरे । किनकी परीक्षा मेरो लागि एउटा बहाना मात्र थियो । परीक्षा बिग्रनुसँग मलाई कुनै चिन्ता थिएन । मलाई सरुसँग भेट हुने कुराले जुन खुसी दिएको थिया,े त्यो मेरा अरु सबै चिन्ता भुलाउन काफी थियो ।

त्यो दिन शनिवार थियो । लोक सेवा आयोगले लिने अधिकृत पदको प्रारम्भिक परीक्षा प्राय शनिवार नै हुन्छ । सरुसँग भेट गर्नु नहुदो हो त म परीक्षा दिन विराटनगरबाट धाएर इलाम कदापी जाने थिइन । स्कुलको गेट पनि मलाई टाढा भए जस्तो लागिरहेको थियो । मेरा पाइलाहरु आफसेआफ छिटो-छिटो चलिरहेका थिए । मेरो नजरहरु एकनासले स्कुलको गेटतिर नै हान्निएका थिए । गेट पुगेपछि मेरा आँखाले पूर्व पट्टीबाट घडीको सुइ घुमे झै एक फन्को लगाए । यस अघि सरुलाई आमने-सामने कहिल्यै नदेखे पनि मैले उसलाई सहजै ठम्याए । फेसबुकमा मैले धेरै पटक उसको तस्वीरको एक्स-रे गरिसकेको थिए ।

बाटोको बायाँ साइडमा लाइन लागेका ट्याक्सीका सहचालकहरु “बिर्तामोड, बिर्तामोड” भनेर चिच्याइरहेका थिए । बाटोको दायाँ साइडका ट्याक्सीहरु भने फिदिम र ताप्लेजुङ जाने यात्रुलाई पर्खिरहेका थिए । बाटो मुन्तिरको बासको झ्याङको विसालता देख्दा लाग्थ्यो यत्रो अलकात्रा छापेको बाटोलाई त्यही झ्याङले एक्लै बोकिरहेको छ ।

त्यही बाटोको डिलमा मोबाइलमा बोल्दै उभिएकी केटी नै मैले भेट्न खोजेको सरु हो भन्ने कुरामा मलाई कुनै सन्देह रहेन । उसको खैरौ कपाल आधा मात्र पछाडि झरेको थियो, बाकी आधा चाँही दुबै साइडबाट अगाडि खसेको थियो । फराकिलो निदार बेदाग थियो । अस्वभाविक झै विशाल लाग्ने उसका आँखाहरु जब मेरा आँखासँग जुधे, मलाई ती आँखा औधी मोहक लाग्यो । उसको मुहारमा कुनै श्रृंगार थिएन, तर ओठमा भने नजानिदो तरिकाले लिपस्टिक पक्कै लगाएको हुनुपर्छ । ह्वाइट कलरको टी सर्ट र ब्लू कलरको जिन्समा उसको शरीर आकाश झै आकर्षक र रहस्यमह थियो ।

फेसबुकको वालमा हेरिरहने गरेको सरु र आज आफ्नै आँखा अगाडि साक्षात्कार भेटेको सरुमा कुनै भिन्नता भेटिन मैले ।
जब मेरा आँखा उसका आँखाबाट तल ओर्लदै थिए, त्यही बेला उसले अनजानमै आफ्ना ओठहरु खोली । जब उसले आफ्ना तिखा र धारिला दाँत देखिने गरी मुस्काइ मेरा ओठहरु पनि सँगै बस्न सकेनन् । यतिबेला हामी आँखाले आँखा हेरे झै ओठले ओठ हेराहेर गर्दे थियौँ । उसलाई देखेको १० सेकेन्डमा मैले उसलाई १० हजार पटक हेरेँ । सायद मेरा नयनहरुले धेरै सम्वाद गरे उसँग यही १० सेकेन्ड भित्र ।

“इग्जाम कस्तो भयो ?” उसले अचानक सोधी ।
“इग्जाम भन्दा राम्रो त तिमीसँगको भेट भयो ।” मैले हासेर भने । “तिम्रो त राम्रो भयो नि ?” मलाई सोध्न मन थिएन तर पनि औपचारिकताका लागि सोधे । किनकी मलाइ थाह थियो उसले इग्जाम राम्रो गर्छे तर पनि “ठिकै मात्र भयो” भन्छे । उसँगको करिव २ बर्षको नियमित सम्वादले मेरो के प्रश्नमा उसले के जबाफ दिन्छे म सहजै अनुमान लगाउन सक्ने भएको थिए ।
“ठीकै मात्र भयो, एकातिर पढेको अर्कातिरबाट प्रश्न आयो ।” उसले त्यसै भनी ।
“जाऔं, चिया खान ।” मैले हातले इसारा गर्दै भने ।
“उम्, कस्तो भोक पनि लागेको छ ।” ऊ अघि लाग्दै बोली ।
बाटोमा पैदल हिड्ने मान्छेको कुनै कमी थिएन । कोही समलिङ्गी समूहमा थिए । हामीभन्दा ठीक अगाडि चै एक विपरीत लिङ्गी जोडी जोडिएर हिडिरहेका थिए । एकदमै बिस्तारै । मानौ तिनीहरु समयलाई यसै गरी बिताउन चाहान्छन् । तिनीहरु बिचको त्यो सामीप्यताले म र सरु बिचको दुरीलाई गिज्याए झै लाग्यो ।

यतिबेला दिनको २ः३० भएको हुँदो हो । हामी पूर्वेली आइसक्रिम पार्लर भित्र थियौ । हामी बसेको टेबलको दक्षिणपट्टी फराकिलो बगैँचा थियो । माघको महिना भएकोले हल्का जोडो भएको महसुश गर्दे थिए म । बगैँचामा केवल राता गुलाबका फूलहरु मात्र फुलेका थिए । केही फूलहरु ऐलाएका थिए । केही भर्खर फक्रिएका, अनि केही चाँही कोपिला अवस्था मै । मान्छेको जीवन जस्तै फूलको पनि आफ्नै जीवनका विभिन्न अवस्था हुदा रहेछन् । जे भए पनि सरुको सुन्दरताले ती फक्रिएका गूलाबका फूलहरुको सुन्दरतालाई सयौं गुणाले उछिनेको थियो । उ मन की जति राम्री थिई त्यती नै राम्री रैछे, रुपमा पनि ।
“सरु… , बोलन ।” मैले मैनातालाई चिर्न प्रयास गरे ।
“बोल्दैत छु नि ।” उसले चियाको एक चुस्की सुरुप्प पारेर भनी ।

सरुको मुहारको सुन्दरता कति पनि कम भएको थिएन । तर उसका कान राता भएका थिए । उसका आँखामा पलाएको संकोच र डर मैले सहजै पढेँ । मैले स्कुलको गेटमा भेटेकी सरु जति निडर थिइ अहिले उ त्यस्ती कदापी थिइन । ऊ त्रसित देखिन्थी । वेटरले दुइ प्लेट मःमः हाम्रो टेबलमा राखेर फर्कदै गर्दा सरुका नजर उसैतर्फ सोहोरिएका थिए । वेटरको हिडाइलाई सरुका नजरहरुले पछ्याइरहेका थिए । मैले उसका नजरलाई साथ दिए ।
“सरु, चिनेको हो उसलाई, तिमीले ?” मःमः खान लाग्दा मैले उसको चिउँडोलाई दायाँ हातले आफुतिर तान्दै सोधे ।
“उम् ….।” उसले यसो भन्दा उसको मुहारको उदासिनतामा कुनै कमी आएको थिएन, बरु त्यो झन् बढेको थियो ।
“को हो ऊ ?” मेरो मनमा थुप्रिएका जिज्ञासाको थुप्रो उधिने मैले ।
“पछि भनौँला ।”

उसको यस प्रकारको टारुवा जवाफ सुन्न म अभ्यस्त भइसकेको त थिइन । तर उ अली तनावमा भएको बेला यस्तो गर्थी । यस्तो बेला ऊ धेरै कुरा सस्पेन्स मै राखिदिन्थि । “भरे भन्छु । भोली भन्छु । पछि भन्छु ल !” यी र यस प्रकारका अभिव्यक्ति उसका लागि नित्य थिए, तनावमा भएको बेला । मेसेन्जरमा हुने नियमित कुराकानीले सरु र मलाई एक आपसमा चिर परिचित बनाएको थियो । कयौ दिन घण्टौ कुराकानी हुन्थे । तर भेटघाट गर्ने कुरालाई भने हामीले खासै महत्व दिएनौ । हामी बिचको त्यो आत्मिक निकटता कायम राख्न नियमित सम्वादले दिलाएको आपसी विश्वास नै पर्याप्त थियो । सम्वाद विहिन भएर एक दिन पनि बितेको याद छैन मलाई विगत २ बर्ष यता ।

ऊ र म एउटै पेशामा भएकोले कुराकानीको विषय पेशागत नै हुन्थे । प्रेम पनि छलफलको विषय बन्थ्यो । दैनिक गरिने क्रियाकलाप वा दैनिकी त अवश्य पनि गफका विषय भइ नै हाले । हामी दुबै स्कूलमा पढाउथ्यौ । हामी बिचको निकटताको मुख्य कारण यही हो भनेर म भन्न सक्दिन तर पनि केही हदसम्म हाम्रा रहरहरु उस्तै थिए । स्वभावहरु प्राय मिल्थे । हुन त ऊ अलि अन्तरमुखी स्वभावकी थिइ । म भने मनमा भए जति सबै ओकलिदिन्थे, उसका सामु । हामीलाई नजिक बनाउने सबैभन्दा धेरौ काम चाँही हाम्रो फुर्सदले गरेको हुनपर्छ । जब मान्छे फुर्सद हुन्छ, तब साथ खोज्छ कसैको । कसैको भन्नु को अर्थ जसको साथ आफूलाई प्यारो लाग्छ उसैको ।

व्यक्त नगरे पनि हामीले हाम्रो आत्मियतालाई प्रेम कै अर्थमा बुझ्ने गरेका थियौं । मलाई सरुको साथ यतिसम्म प्यारो भएको थियो की जीन्दगीभर उसकै साथ खोज्न थालेको थिए । उसकै साथमा जीवन रंगाउने सपनाका विशाल महलहरु उभिएका थिए मन भित्र । मःमः खाइसकेपछि हामी सडकको छेउमा उभिरहेका थियौ । सरु परिचित भएर पनि अपरिचित जस्तै लाग्दै थिई, यतिबेला । हामी बीचको यस प्रकारको सून्यता निकै अस्वभाविक लागि रहेको थियो मलाई । मलाई सरु जति पारदर्सी र स्पष्ट लाग्थी उति नै अस्पष्ट र अज्ञात लाग्दै थिइ त्यो दिन । हामी छेउको सडक जति अव्यवस्थित थियो, त्यति नै अव्यवस्थित हुन थालेको थियो मेरो मन पनि । थुप्रै असहजता, अस्पष्टता र अन्योलताले छोपिएको थियो मेरो मन । परीक्षा हलबाट निस्कदा रुवा झै हलुंगो भएको मेरो मन, एकाएक फलामभन्दा गहै भएको थियो, यति बेला ।

विर्तामोडबाट फिदिम हुँदै ताप्लेजुङसम्म जाने बस उकालो बाटोमा कनी–कनी चड्दै थियो । सरुले हात उठाएर बस रोक्ने इसारा गरी ।
“आजै जाने र ?” मैले आश्चार्यको भावमा सोधे । सरु भोलीपल्ट मात्र घर जाने कुरा उसैले बताएकी थिइ अघिल्लो दिन ।
उसले सहमतीको भाव झल्कने गरी टाउको हल्लाइ ।

हेर्दा हेर्दै ऊ बस चढी । बस चड्दै गर्दा उसको दाहिने काधमा झुन्डिएको ब्राउन कलरको ब्युटीफूल ब्याग झन्डैले खस्यो । सरु बसको पछाडि पट्टीको सिटमा गएर बसुन्जेल मेरा नयनहरु ऊबाट हटेनन् । जब बसले गति लियो उसका नजरहरु बसको झ्यालबाट फुत्त हाम्फालेर मेरा आँखासँग ठोक्किए । तर यस पटक उसका ती नजरको अर्थ लगाउन म असमर्थ भए । बसको गतिसँगै ऊ मेरा नजरबाट हराई । ऊ मेरो भौतिक आँखाबाट त हराइ तर हराइन मेरो मनको आँखाबाट । ऊ मेरो मनको आँखा वरिपरि उफ्रिरही । ऊ सँग भएका कुराकानीहरु सिनेमाको रिल घुमे झै घुमिरहे मस्तिस्कमा । “म अब तिमीसँग यति नजिक भएकी छु की चाहेर पनि तिमीबाट अलगिन सक्दिन । मेरो शरीरको नसामा बग्ने रगतमा तिमी नै बग्छौ । तिमी नहुदाँ मलाई एकदमै एक्लो महसुस हुन्छ, सुवास, हो, म तिम्रो अभावमा एकदम रित्तो हुन्छु ।” उ भन्ने गर्थी ।
मलाई तत्काल हिड्ने तागत आएन । गोडा लुला भए । मन गाँठो परो । मुख सुकेर थुक निल्न कठिन भयो । शरीरमा चिटचिट पसिना आयो । नजिकै एउटा बेन्चमा थचक्क बसे । टाउको फुले जस्तो भयो । रिंगटा चले जस्तो भयो ।

त्यही बेला मोवाइलमा मेसेजको घण्टी बज्यो । सरुले नै पठाएकी रहिछ । “सरी ! आइ एम इङ्गेज्ड वीथ द वेटर ।” लेखेकी थिइ । एउटा फोटो पनि पठाएकी थिइ । सायद विश्वास गर्दिन की भनेर होला । एकछिन पछि मोवाइलमा उसको नम्वर थिचे । के बोल्ने विषयमा नसोचिकनै । अफसोच ! फोन अफ थियो । उसको फोन अझैसम्म बिउझिएको छैन । फेसबुक अकाउन्ट र मेसेन्जरमा “सरु” लेखेर सर्च गरिरहे । तर ऊ कहिल्यौ भेटिइन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!