Rabin Katel

धनकुटा । अबिरल बर्षाका कारण आएको बाढी पहिरोले धनकुटाका बिभिन्न ठाउँमा क्षति पुर्याएको छ । बाढी पहिरोले कतिपय सडक अवरुद्ध भएका छन् भने केही परिवार बिस्थापित बनेका छन् ।

Advertisement

बर्षाका कारण अरुण नदीमा आएको बाढीले जमिन कटान गर्न थालेर घर जोखिममा परेपछि महालक्ष्मी नगरपालिका–५ रामबजारका तीन र पहिरोले घरमा क्षति पुर्याएपछि धनकुटा नगरपालिका–१ हिलेका दुई परिवारलाई स्थानान्तरण गरिएको छ । नदीको सतह बढ्दै गएर जोखिम बढेपछि रामबजारका दिपक भण्डारी, दिपेन श्रेष्ठ र धर्मध्वज राईको परिवारलाई सुरक्षित स्थानमा सारिएको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले जानकारी दिए । उनका अनुसार पहिरोले घरमा क्षति पुर्याएपछि हिलेका सेतुलाल तामाङ र डिल्ली घिमिरेको परिवारलाई पनि स्थानान्तरण गरिएको छ ।

बाढी र पहिरोका कारण साँगुरीगढी गाउँपालिका–७ स्थित गर्जुवाको बस्ती जोखिममा छ । सो स्थानमा रहेका ९ परिवार जोखिम मोलेर बस्न बाध्य बनेका छन् । गर्जुवा खोलामा आईरहेको ढुंगा माटोसहितको बाढीले कोशी राजमार्ग पटक–पटक अवरुद्ध भईरहेको छ ।

बर्षाका कारण महालक्ष्मी नगरपालिका–६ स्थित माङमाया खोलामा बाढी आउँदा हिले–भोजपुर सडक अवरुद्ध भएको छ । बिहान करिव ९ बजेबाट सडक अवरुद्ध हुँदा दर्जनौं सवारी साधन बीच बाटोमै रोकिएका छन् । खोलाबाटै गाडी पार गर्नुपर्ने हुनाले बर्षा कम भएर बाढी नघटेसम्म सवारी सञ्चालन हुनसक्ने अवस्था छैन । त्यस्तैगरी पहिरोका कारण मुलघाट–त्रिवेणी सडक पनि अवरुद्ध भएको छ । धनकुटा नगरपालिका–९ स्थित शिरशिरे भिरबाट ७ ठाउँमा पहिरो झर्दा सडक अवरुद्ध भएको हो ।

यता, साँगुरीगढी गाउँपालिका–१ भकुवा खोला नजिक तमरकोशी करिडोर पाँचथर भित्रि सडक खण्डमा पहिरोले गाडी पुरेको छ । पाँचथरबाट मुलघाटतर्फ आउँदै गरेको को.१ ज. ९४५० नम्बरको बलेरोलाई माथिबाट खसेको पहिरोले पुरेको हो । पहिरोले पुरेको करिब २ घण्टापछि जेसीबी लगाएर पहिरो पन्छाई गाडी निकालिएको प्रहरीले जनाएको छ ।

त्यस्तै साँगुरीगढी गाउँपालिका–७ स्थित लेउती खोलामा बाढीसँगै आएको पहिरोले धनकुटा नगरपालिकाको को.१ झ.५८४ नम्बरको गाडी पनि आधा पुरेको थियो । जेसीबीले माटो पन्छाएर केही समयपछि गाडी निकालिएको छ । अबिरल बर्षाका कारण धनकुटाका बिभिन्न स्थानमा भएको क्षतिको विवरण आउँने क्रम जारी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement