- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा १७ वर्षिया किशोरी बलात्कृत भएको रहस्य खुलेको छ । बलात्कार गरेर गर्भवती बनाएको भन्दै पीडित पक्षले प्रहरीमा जाहेरी दिएपछि घटनाको रहस्य खुलेको हो । किशोरीलाई बलात्कार गरेको आरोपमा स्थानीय दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणीको जाहेरी परेपछि चौविसे गाउँपालिका–८ सोक्रोक्पा बसन्तटारका २२ बर्षीय भीम लिम्बु र १७ बर्षीय युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी गोबिन्द अधिकारीले संगालोखबरलाई जानकारी दिए ।

Advertisement

पीडित किशोरीको भनाई उदृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार चौबिसे–८ देउरालीमा गत माघमा भएको विवाहमा भीमसँग उनको पहिलो भेट भएको थियो । विवाहकै राती भीमले ती किशोरीलाई जबरजस्ती तान्दै घर नजिकको जंगलमा पुर्याई जबरजस्ती करणी गरेको आरोप छ । भीमले यौन सम्पर्कका लागि प्रस्ताव गर्दा नमानेपछि जबरजस्तीकरणी गरेको पीडित किशोरीको भनाई छ ।

चौबिसे–६ की ती किशोरी आमासँगै विवाहमा गएका बेला घटना भएको हो । माघ महिनाको अन्तिममा पनि पुनः ती किशोरीलाई देउरालीमा लगेर भीम र अर्का १७ बर्षीय युवकले पालैपालो यौन शोषण गरेको आरोप छ । घटना पुरानो भएपनि किशोरीको पेटमा गर्भ बसेपछि घटनाको रहस्य बाहिरिएको हो । आरोपित भीम विवाहित हुन् । उनका श्रीमति र बच्चासमेत छन् ।

पेटमा बच्चा बसेपछि ०७७ असार १ गते किशोरी भीमको घर पुगेकी थिईन् । घटनाको बारेमा बताउँदा भीमकी श्रीमतिसहित परिवारका सदस्यले उनलाई कुटपिट गरी खेदाएको बताईएको छ । घटनापछि न्याय खोज्दै पीडित परिवार जिल्ला प्रहरी कार्यालय आएर गत शुक्रबार दुबै जनाबिरुद्ध किटानी जाहेरी दिएपछि छ महिना अघिको घटनाको रहस्य खुलेको हो ।

जाहेरीपछि पक्राउ परेका दुवै जनाबिरुद्ध जिल्ला अदालतमा जबरजस्ती करणी कसुरमा मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ । यता, पीडित किशोरीको स्वास्थ्य परीक्षण गर्दा करिव ६ महिनाको गर्भ रहेको पत्ता लागेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

केही महिना अघि पनि धनकुटा नगरपालिकाकी १४ बर्षीया दलित बालिकालाई यौन शोषण गरेको घटना सार्वजनिक भएको थियो । यौन शोषण आरोप लागेका चार जना जिल्ला अदालतको आदेशपछि अहिले पूर्पक्षका लागि थुनामा छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!