- संगालोखबर सम्बाददाता

धनकुटा । हिले बजारको मुख्य सडक हिलाम्मे भएपछि स्थानीयबासीले सोमबार सडकमै धान रोपेर व्याङ्ग्यात्मक रुपमा धान दिवस मनाएका छन् । ढल निर्माणका क्रममा निर्माण कम्पनीले लापरबाही गर्दा सडक हिलाम्मे भएर सास्ती व्यहोर्नु परेको भन्दै स्थानीयबासीले सडकमै रोपाई गरेका हुन् ।

बाजा र राष्ट्रिय झण्डासहित दर्जनौंको संख्यामा सडकमा निस्किएका उनीहरुले हिलो सडकमा धान रोपेर नाचगान गर्दै व्याङ्ग्यात्मक रुपमा धान दिवस मनाएका हुन् । ढल निर्माणको काम व्यवस्थित रुपमा नहुँदा सडक हिलाम्मे भएर आवतजावतमा समस्या भएपछि बिरोध स्वरुप सडकमा रोपाई गरिएको राप्रपा लोकतान्त्रिकका अध्यक्ष एवं स्थानीय लाक्पा तामाङले बताए ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरको ७ करोड ६१ लाखको लागतमा हिले बजारमा ढल निर्माण भईरहेको हो । भीमेश्वर ड्रिलिङ तथा निर्माण सेवा वुटवलले ढल निर्माणको जिम्मा लिएको छ । ढल निर्माणका क्रममा निर्माण कम्पनीले लापरबाही गर्दा सडक हिलाम्मे भएर आवतजावतमा समस्या भएको स्थानीयको आरोप छ । उनीहरुले हिलाम्मे सडकको समस्या समाधान हुने गरी निर्माण कार्य नगरे काम रोक्ने दावीसमेत गरेका छन् ।

ढल निर्माणमा गुणस्तरको प्रश्न उठेपछि यसअघि वडा सदस्य लालचन्द्र गोङवा तामाङको संयोजकत्वमा ११ सदस्यीय अनुगमन समितिसमेत बनाईएको थियो । बर्षाका कारण अहिले हिले पुछारदेखि सिरानसम्म नै सडक हिलाम्मे भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!