गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटामा पहिलो पटक स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । मुलुकको ५७ औं र प्रदेश १ को ११ औं जिल्लाका रुपमा धनकुटामा स्वास्थ्य बीमा सुरु गरिएको हो । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले वडा नं.७ का जेष्ठ नागरिक शंकर दाहाललाई स्वास्थ्य बीमा परिचय पत्र प्रदान गरी सेवा सुरुवात गरेका छन् ।

Advertisement

जिल्लाभर स्वास्थ्य बीमा दर्ता सेवा सुरु गर्न ६० वटै वडाका बीमा दर्ता सहयोगीहरुलाई तालिम प्रदान गरिएको छ । अब तालिमप्राप्त प्रतिनिधिहरु गाउँ–गाउँमा गएर स्वास्थ्य बीमा सम्बन्धि जानकारी गराएर बीमा गराउँने अभियान सुरु गर्ने धनकुटा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोजराज भण्डारीले संगालोखबरलाई जानकारी दिए । ‘प्रदेश बीमा बोर्डका प्रतिनिधिहरु आएर धनकुटाका सबै वडाका प्रतिनिधिहरुलाई तालिम प्रदान गर्नुभएको छ ।’ भण्डारीले भने–‘अब तालिमप्राप्त बीमा दर्ता सहयोगी घर–घरमा पुगेर बीमा गराउँने काम थाल्नुहुन्छ ।’

स्वास्थ्य बीमा गर्न बार्षिक न्यूनतम ३ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ । त्यसबापत एक परिवारका पाँच जनासम्मको बीमा हुन्छ । बीमा गरेपछि सुचिकृत स्वास्थ्य सस्थाबाट १ लाखसम्मको स्वास्थ्य उपचार पाँच जनाले निःशुल्क पाउँछन् । परिवारका पाँच भन्दा बढी व्यक्तिको बीमा गर्न प्रति व्यक्ति ७ सयका दरले रकम थप्नुपर्छ । जसवापत प्रति व्यक्ति उपचार पाउँने १ लाख रकममा २० हजारका दरले रकम थप हुन्छ । एक परिवारको बीमा गर्ने व्यक्ति संख्या अधिकतम १० तोकिएको छ भने अधिकतम उपचार पाउँने रकम २ लाख कायम गरिएको छ । यता, ७० बर्षमाथिका ज्येष्ठ नागरिकको बीमा निःशुल्क हुन्छ । अति बिपन्न, अति अशक्त, अपांग, एचआईभी संक्रमित, बहुऔषधिले काम नगरेका क्षयरोगी र कुष्टरोगीको पनि निःशुल्क बीमा हुँने भएकाले उनीहरुले निःशुल्क बीमा सेवा पाउँछन् ।

धनकुटामा जिल्ला अस्पतालसहित जितपुर र राजारानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रबाट बीमितले निःशुल्क उपचार सेवा लिन सक्ने नगरपालिकाका जनस्वास्थ्य निरीक्षक भण्डारीले बताए । त्यसबाहेक धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, बिराटनगरस्थित कोशी अस्पताल, नोबेल शिक्षण अस्पताल लगायत सूचिकृत बिभिन्न अस्पतालबाट बीमितले निःशुल्क उपचार पाउँछन् । सरकारले सबै नागरिकको स्वास्थ्य बीमा गराउँने अभियान अन्र्तगत बिभिन्न जिल्लामा बीमा कार्यक्रम संचालन गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!