
ओखलढुंगा । ओखलढुंगामा आज ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मानेभञ्ज्याङ–६ देउराली डाँडास्थित सिद्धिचरण राजमार्गमा ट्याक्टर दुर्घटना हुँदा भारतको पश्चिम बङ्गाल घर भएका चालक २७ बर्षीय सञ्जय बरमनको मृत्यु भएको हो ।
मानेभञ्ज्याङबाट थाक्लेतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर अनियन्त्रित भई सडकबाट करीब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक बरमन गम्भीर घाईते भएका थिए ।
उनको उपचारको क्रममा स्थानीय मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।