- ज्यो.पं. – हरिप्रसाद भण्डारी

असार ७ गते आईतबार (आज) आकाशमा एक अद्भूत खगोलिय घटना देख्न पाईनेछ । करिब १२ वर्ष पछि यति ठुलो सूर्यग्रहण लाग्नेछ । ग्रहण अवधिमा सूर्यको करिब ८८ प्रतिशत भाग ढाकिने छ । जसका कारण पृथ्वीमा अध्यारो हुनेछ । आषाढ कृष्ण औशी तिथिका दिन लाग्न लागेको खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, एशियाली देशहरु, युरोपियन मुलुकहरुका साथै अफ्रिकी देशहरु बाट देखिनेछ ।

करिब ३ घण्टा ३३ मिनेट लाग्ने सूर्यग्रहण नेपाली समय अनुसार बिहान १० बजेर ५० मिनेटमा ग्रहण स्पर्श हुनेछ । मध्यान्ह १२ बजेर ३८ मिनेटमा मध्य समय र मोक्ष अपरान्ह २ बजेर २३ मिनेटमा हुनेछ । हिन्दु धर्ममा आस्थावानहरुका लागि असार ६ गते राति १० बजेर ५० मिनेट देखि सुतक लाग्ने हुनाले असार ७ गते दिउँसो २ बजेर २३ मिनेटसम्म बालक, वृद्ध र बिमारीदेखि बाहेकले भोजन नगर्नु उत्तम हुनेछ ।

यो सूर्यग्रहण मृगाशिरा र आद्रा नक्षत्रको मिथुन राशिमा लाग्नेछ । यो ग्रहण मिथुन राशिमा रहने हुनाले मिथुन राशिका जातकलाई बढि कष्ट हुनेछ । यो अवधिमा कुल छ ग्रह बक्रि हुनेछन । धेरै ग्रह बक्रि हुने हुनाले यसको असर प्राकृतिक, आर्थीक, सामाजिक र राजनीतिक क्षेत्रमा देखिनेछ । प्राकृतिक विनाश, बाढी पहिरो, समुन्द्रि आँधी तुफान, महामारीको अवस्था झन बढ्नेछ । आर्थीक मन्दिका कारण समस्या आउन सक्नेछ । शनि र मंगलका कारण विभिन्न देशहरुमा द्धन्द्ध बढेर हिंसा बढ्नुका साथै युद्धसमेत हुन सक्नेछ । मंगल ग्रह जलकारक राशि मिनमा हुने हुनाले भारी वर्षाका कारण नेपाल तथा भारतमा ठुलो विपत्ति आईलाग्न सक्नेछ । समग्रमा यो ग्रहणको फल राशि अनुसार निम्न बमोजिम प्राप्त हुने देखिन्छ ।

मेष राशि : श्री प्राप्ती हुनेछ । सुख बढ्नेछ ।
वृष राशि : क्षति आर्थीक संकट देखिनेछ ।
मिथुन राशि : कष्ट पिडा, घात हुनेछ ।
कर्कट राशि : व्यय, खर्च बढ्नेछ ।
सिंह राशि : लाभ, फाईदा बढ्नेछ ।
कन्या राशि : सुख बढ्नेछ ।
तुला राशि : मान नाश, ईज्जत प्रतिष्ठामा आँच आउन सक्नेछ ।
वृश्चिक राशि : कष्ट हुनेछ ।
धनु राशि : स्त्री पिडा, पत्नीलाई कष्ट हुन सक्नेछ ।
मकर राशि : सुख बृद्धि हुनेछ ।
कुम्भ राशि : चिन्ता बढ्नेछ ।
मिन राशि : व्यथा, रोग बढ्नेछ ।

यो सूर्यग्रहण हेर्न मेष, सिंह, कन्या र मकर राशिलाई जुरेको छ । अन्य राशिलाई जुरेको छैन । ग्रहण अवधिमा दीर्घ रोगि र गर्भवति महिलाले बाहिर ननिस्कनु शुभ हुनेछ । धार्मीक मान्यता अनुसार ग्रहण अवधिमा नयाँ कार्यको थालनी नगर्नु, खानेकुरा नखानु, सुत्ने, कपाल कोर्ने, दाँत माझ्ने ईत्यादि कार्य नगर्नु उत्तम हुनेछ । यो अवधिमा मन्त्र जप एवं भगवानको आराधना गर्नु शुभ हुनेछ । ग्रहण सकिएपछि नुहाई धुवाई गरेर आफ्नो गच्छ अनुसार दान गर्नु उत्तम हुनेछ । ग्रहणको सकारात्मक वा नकारात्मक फल ग्रहण लागेपछिको समयदेखि ६ महिना भित्रमा प्राप्त हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!