संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका अध्यक्ष कुमारजङ्ग याखाको कार्यकक्षमा आज वडाध्यक्षहरुले तालबन्दी गरेका छन् । आर्थिक बर्ष २०७७/७८ का लागि वडामा बजेट घटाउँन खोजेको भन्दै तीन वटा वडाका अध्यक्षहरुले याखाको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

Advertisement

चालु आर्थिक बर्षमा गाउँपालिकाले १० वटै वडाहरुमा प्रति वडा ५० लाखका दरले वजेट विनियोजन गरेको थियो । तर, आगामी आर्थिक बर्षका लागि बजेट घटाएर प्रति वडा २० लाख मात्र वजेट विनियोजन गर्न खोजेको भन्दै साँगुरीगढी वडा नं.४ का वडाध्यक्ष खड्गबहादुर लिम्बु, वडा नं.५ का वडाध्यक्ष पलकबहादुर वस्नेत र वडा नं.६ का वडाध्यक्ष यमप्रकास मगरले वजेट प्रस्ताव प्रति असन्तुष्टि जनाउँदै अध्यक्ष याखाको कार्यकक्षमा ताला लगाएका हुन् ।

तालाबन्दी गर्नुअघि वडाध्यक्षहरुले पत्रकार सम्मेलनसमेत गरेका थिए । गाउँपालिका अध्यक्षले कोरोनाको कारण देखाएर वडामा बजेट घटाउँन लागेको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् । वजेट कार्यक्रमको लागि कार्यतालिका सार्वजनिक गरेपनि प्रक्रियागत ढंगले वजेटको नीति तथा कार्यक्रम अघि नवढाएको र छलफल नै नगरी एकलौटी ढंगले असार ३ गते वजेटको सिलिङ सार्वजनिक गरेको उनीहरुको आरोप छ । उनीहरुले बजेटमा पुर्नविचार गर्न माग गर्दै गाउँपालिका उपाध्यक्ष बिन्द्र राईलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

गाउँपालिका अध्यक्ष याखा कामको सिलसिलामा प्रदेश मुकाम बिराटनगर गएका बेला वडाध्यक्षहरुले गाउँपालिका उपाध्यक्षलाई ज्ञापनपत्र बुझाएर तालाबन्दी गरेका हुन् ।

हतारमा तालाबन्दी गर्नुको औचित्य छैन : अध्यक्ष याखा

यता, गाउँपालिका अध्यक्ष याखाले बजेट प्रस्ताव गर्दैमा तालाबन्दी गर्नुको कुनै औचित्य नभएको बताएका छन् । ‘अहिले बजेट सार्वजनिक भएको हैन । बजेटको तयारीका लागि प्रस्ताव मात्र गरिएको हो । १० गते नीति तथा कार्यक्रम ल्याउँने र २५ गते बजेट सार्वजनिक गर्ने कार्यक्रम छ ।’ संगालोखबरसँग अध्यक्ष याखाले भने ‘प्रस्तावको बिषयमा छलफल गर्न सकिन्छ । छलफलबाटै समस्याको समाधान गर्ने बाटो छदाछदै तालाबन्दीमा उत्रिनुको औचित्य छैन ।’

उनले बजेटको बिषयको असन्तुष्टि भन्दा पनि फरक राजनीतिक आस्थाका कारणले बिरोधस्वरुप तालाबन्दी गरिएको आरोप लगाएका छन् । १० वडा रहेको साँगुरीगढीमा अध्यक्ष उपाध्यक्षसहित ७ वटा वडामा तत्कालित एमालेका प्रतिनिधि निर्वाचित छन् । ती बाहेकका तीन वडाका अध्यक्षहरुले तालाबन्दी गरेका हुन् । साँगुरीगढी ५ का वडाध्यक्ष बस्नेत र ६ का वडाध्यक्ष मगर कांग्रेसका तर्फबाट निर्वाचित भएका हुन् भने ४ का अध्यक्ष लिम्बु तत्कालिन संघीय समाजवादीको तर्फबाट बिजयी भएका हुन् । उनीहरु बाहेक अन्य सात वटा वडाका अध्यक्षहरुले भने बजेटका बिषयमा फरक धारणा राखेका छैनन् ।

फरक राजनीतिक आस्था भएकाले बजेटको बिषयसँग भन्दा पनि राजनीतिक कारणले तालबन्दी गरिएको अध्यक्ष याखाको तर्क छ । उनले अहिले बजेटको प्रस्ताव मात्र भएकाले यो बिषयमा छलफल गरी सबैको चित्त बुझाएर सहमतिमा अघि बढ्ने बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!