बिराटनगर । प्रदेश सांसद सुयर्माराज राईले प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७७/७८ का लागि बजेट सार्वजनिक गरेपछि लाजले जनतासमक्ष मुख देखाएर हिड्न गाह्रो भएको बताएका छन् ।
बजेटका बिषयमा छलफलका लागि बुधबार आयोजित प्रदेश सभाको बैठकमा बोल्दै सांसद राईले महत्वकांक्षी बजेट प्रदेश सरकारले सार्वजनिक गरेकाले सांसदका हिसावले मुख देखाउँन लाज भएको बताएका हुन् ।
‘बजेट अत्यन्तै महत्वकांक्षी आएको छ । जनताको अपेक्षा एकातिर थियो, बजेट अर्को हिसावले आयो ।’ उनले भने–‘बजेट सार्वजनिक भएपछि प्रदेशको माननीयका हिसावले लाजले जनताको माँझमा अनुहार देखाउँँन अफ्ठेरो भईरहेको छ ।’
आफुले ३५ अर्ब भन्दा बढीको बजेट आउँने अनुमान पनि नगरेको भन्दै उनले सरकारले महत्वकांक्षी रुपमा झण्डै ४१ अर्बको बजेट ल्याएको बताए ।
कांग्रेसका तर्फबाट निर्वाचित सांसद राईले प्रदेश सरकारसँग रोजगार उत्पादन गर्ने नारा भएपनि त्यसको आधार नभएको आरोप पनि लगाए । कोरोनालाई देखाएर खर्च बढाउँने र बजेट खर्च गर्न नसक्ने विगतको असक्षमतालाई ढाकछोप गर्ने गरी सरकार अघि बढेको उनको आरोप छ ।
भिडियो हेर्नुहोस्…