सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पाको आज बिहान निधन भएको छ । क्यान्सरपीडित ३९ बर्षीय अध्यक्ष शेर्पाको बिहान करिव साँढे ८ बजे निधन भएको हो ।
खुम्बु पासाङल्हामु गाउँपालिका उपाध्यक्ष टसील्हामु शेपाले मृत्युको पुष्टि गरेकी छन् । संगालोखबरसँग उनले भनिन्–‘११ महिना अघिदेखि उहाँलाई आन्द्राको क्यान्सर भएको थियो । घरमै आराम गरेर बसीरहेका बेला आज बिहान उहाँको मृत्य भएको हो ।’
खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्ला स्थित आफ्नै घरमा उनको निधन भएको हो । काठमाडौंस्थित ह्याम्स र निदान अस्पतालमा उनको उपचार गरिएको थियो । उपचार पछि पनि स्वास्थ्यमा सुधार नदेखिएपछि उनी चिकित्सकको सल्लाहमा घरमै बसेका थिए ।
तत्कालिन नेकपा एमालेको तर्फबाट उनी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । शेर्पाका श्रीमतिसहित तीन छोरा छन् ।