बिराटनगर । प्रदेश नं.१ का पाँचसहित ३६ जना प्रहरी उपरीक्षक (एसपी) फेरिएका छन् । मोरङ, सुनसरी, धनकुटा, ईलाम, उदयपुर लगायत जिल्लाका एसपी परिवर्तन भएका हुन् । प्रहरी महानिरीक्षकको निर्णय अनुसार असार महिनाको तलब भत्तासमेत सरुवा भएको स्थानबाटै पाउने गरी एसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
धनकुटाका एसपी सुदर्शन प्रसाद कोईरालाको मकवानपुर स्थित बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा सरुवा भएको छ । चितवनस्थित जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा रहेका एसपी गोबिन्द अधिकारी सरुवा भएर प्रहरी प्रमुखको रुपमा धनकुटा आउँदैछन् । यता, मोरङका प्रहरी प्रमुख पनि फेरिने भएका छन् । मोरङका एसपी विश्व अधिकारी सरुवा भएर प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षक गण जाँदैछन् । प्रहरी प्रधान कार्यालय विशेष व्यूरोका एसपी सन्तोष खड्का प्रहरी प्रमुखको रुपमा मोरङ आउँने भएका छन् ।
ईलामका एसपी हिराबहादुर पाण्डे सरुवा भएर प्रहरी प्रधान कार्यालय नक्सालको बजेट शाखा पुगेका छन् भने प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासीमा रहेका एसपी नविनराज राई सरुवा भएर ईलाम आउँने भएका छन् । त्यस्तै सुर्खेत स्थित कर्णाली प्रदेश सशस्त्र प्रहरी गण मुख्यालयमा रहेका संजिब शर्मा दास १ नं.प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरी, सुनसरी आउँने भएका छन् ।
१ नं.प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरीमा रहेका एसपी भीमबहादुर दाहाल भने प्रहरी प्रमुखको रुपमा उदयपुर जादैछन् । उदयपुका एसपी बीरबहादुर बुढामगर सरुवा भएर सुर्खेत स्थित कर्णाली प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय जान लागेका हुन् ।