संगालोखबर सम्वाददाता

मोरङ । मोरङको उर्लाबारीमा बिहिबार प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईको पुत्ला दहन गरिएको छ । प्रदेश सरकारले उर्लावारी–३ स्थित मंगलबारे अस्पतालको नाम फेरेर ‘मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर’ बनाउँन लागेको बिरोधमा मुख्यमन्त्री राईको पुत्ला जलाईएको हो ।

Advertisement

अस्पतालको नाम फेरेर स्तरोन्नती गर्ने बिषय प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएपछि आक्रोशित बनेका स्थानीयले मुख्यमन्त्रीको पुत्ला जलाउँदै बिरोध जनाएका हुन् । प्रदेश सरकारले अस्पतालको स्तरोन्नतीको नाममा भुगोलसँग जोडिएको अस्पतालको पहिचान र इतिहासलाई मेटाएर नगरवासीको भावना माथि कुठारघात गरी नाममा राजनीति गर्न खोजेको उनीहरुको आरोप छ ।

बुधवारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले मदन भण्डारी अस्पताल नामाकरणको विपक्षमा आवाज उठ्नु निन्दनीय भएको अभिव्यक्ति दिएका थिए । नीति तथा कार्यक्रमको बिरोध भईरहेका बेला मुख्यमन्त्री राईको यस्तो अभिव्यक्ति आएपछि उनीहरु थप आक्रोशित बनेका हुन् ।

उनीहरुले प्रदेश सरकारलाई मंगलबारे अस्पतालकै नाममा बजेट ल्याउन आग्रह गरेका छन् । अस्पताल स्तरोन्नत गरेर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय स्वागतयोग्य रहेपनि अस्पतालको पहिचान नै मेटिने गरी नाम फेर्न खोज्नु गलत भएको उनीहरुको तर्क छ ।

२०४९ सालमा स्थापना भएर १५ शैयामा सञ्चालित अस्पताललाई ५० शैयामा स्तरोन्नती गरी ट्रमा सेन्टरको रुपमा विकास गर्ने तयारी गरिएको हो । पूर्व पश्चिम राजमार्गसँगै जोडिएको हुँनाले दुर्घटनामा परेका मानिसहरुको उपचार गराउन सहजताका लागि ट्रमा सेन्टरको रुपमा विकास गर्न खोजिएको प्रदेश सरकारले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!