
भोजपुर । लकडाउनको समयमा म्याद गुज्रिएका सामाग्री बिक्री गर्ने भोजपुरका खाद्य पसलहरुलाई बन्द गराईएको छ । बजार अनुगमन गर्दा म्याद गुज्रिएका बस्तु फेला परेपछि त्यस्ता सामाग्री बेच्ने पसललाई तत्कालका लागि बिक्री वितरणमा रोक लगाइएको हो ।
अनुगमनका क्रममा म्याद नाघेका खाद्य बस्तु पाईएपछि सदरमुकामसहित आसपास क्षेत्रका २२ भन्दा बढी पसल सञ्चालनमा रोक लगाईएको अनुगमन टोलीले जनाएको छ । ग्रामीण भेगमा सामान बिक्री गर्ने भोजपुरको दावा बलौटेमा रहेको लक्ष्मी किराना पसल, यमुना स्टोर, कान्तिपुर किराना पसल, विद्याधारी किराना, कुमकुम स्वीट हाउस लगायत २२ वटा पसललाई सामाग्री बिक्री वितरणमा रोक लगाएको हो ।
बिक्रीका लागि राखिएका चामल, दाल, तेल, लगायत सामाग्रीमा उपभोग्य मिति, उत्पादन मिति फेला नपरेपछि बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइँटेलले बताए । उनले भने– ‘मिति सकिएका सामानहरु लकडाउनको मौका पारेर व्यापारीले बेच्न थालेको गुनासो आएपछि हामीले अनुगमनलाई तीव्रता दिएका छौं । यस्ता सामाग्री बेच्ने सबैलाई कारबाहीको दायरामा ल्याउँछौ ।’

सदरमुकाम क्षेत्रका व्यापारीले म्याद गुज्रिएका सामाग्री दुर्गम क्षेत्रमा पठाउँने गरेको पनि पाईएको छ । निरन्तर म्याद गुज्रिएका सामाग्री बिक्री गरिरहेका व्यापारीहरुले गोदामले नै म्याद गुज्रिएको सामाग्री पठाउँने गरेको भन्दै पन्छिने गरेका छन् । बन्द भएका पसलका सञ्चालकलाई स्पष्टिकरणसहित जिल्ला प्रशासन कार्यालयमा छलफलका लागि बोलाइने भएको छ ।
लकडाउनको मौकामा उपभोक्तालाई ठग्ने प्रवृति बढेसँगै प्रशासनले निगरानी बढाएको हो । यो अवधिमा सदरमुकामसँगै आसपासका क्षेत्रहरु सुन्तले, दावाको बलौटेमा रहेका पसलबाट करिब ६५ हजार बरावरको खाद्य सामाग्री नष्ट गरिएको अनुगमन समितिले जनाएको छ । म्याद गुज्रिएका सामाग्री बिक्री गरेमा ५० हजारसम्म जरीवाना र ५ वर्षसम्म जेल सजाय हुन सक्ने कानुनी प्रावधान छ ।















