धनकुटा । धनकुटाकी दिक्षिता लामाले सर्वाधिक अंक ल्याउँदै व्याचलर अफ फार्मेसी संकाय उत्रीर्ण गरेकी छन् । काठमाडौंको सोल्टीमोडस्थित मनमोहन मेमोरियल ईन्स्टिच्यूट अफ हेल्थ साईन्सेसमा अध्ययनरत लामाले सर्वाधिक अंक ल्याउँदै चार बर्षे व्याचलर अफ फार्मेसी संकाय उत्रीर्ण गरेकी हुन् ।
त्रिभुवन विश्वविद्यालयको व्याचलर अफ फार्मेसी संकायमा अध्ययनरत देशभरका विद्यार्थीहरु मध्ये दिक्षिताले सर्वाधिक अंक ८५.९२ प्रतिशत ल्याउँदै टीयू टप गरेको कलेजले दावी गरेको छ । सर्वाधिक अंक ल्याउँदै दिक्षिताले टीयू टप गरेको कलेजका फार्मेसी बिभाग प्रमुख प्रा.डा.धर्मप्रसाद खनालले दावी गरे । ‘हामीले अन्य कलेजहरुसँग सम्पर्क गरेर बुझ्यौ । तर, दिक्षिताको जति अंक अरु विद्यार्थीले ल्याएका छैनन् ।’ संगालोखबरसँग खनालले भने ‘त्रिवीले घोषणा गर्न बाँकी नै छ । तर, दिक्षिताले सर्वाधिक अंक ल्याएको थाहा भएकाले कलेजको तर्फबाट हामीले टियू टपको दावी गरेका हौं ।’
चिकित्सा शास्त्र अध्ययन सस्थानको निर्णय अनुसार त्रिभुवन विश्वविद्यालयले उत्कृष्ट विद्यार्थीको आधिकारीक घोषणा गर्नेगर्छ । तर, आधिकारीक घोषणा हुन बाँकी छ । नेपालभरका ७ वटा कलेजमा व्याचलर अफ फार्मेसी संकायको पढाई हुँने गरेको छ । धनकुटा नगरपालिका–७ परिचयमोडकी दिक्षिताले मुलुकभरका ७ वटै कलेजका दुई सय भन्दा बढी विद्यार्थीलाई पछि पार्दै टीयू टप गरेको दावी गरिएको हो ।
मेहनत गरे अनरुप सफलता प्राप्त भएको भन्दै दिक्षिताले खुशी व्यक्त गरिन् । यता, छोरीले टीयू टप गरेको खबरले आफुलाई गौरवान्वित महसुस भएको भन्दै दिक्षिताका बुबा दिपक लामाले पनि खुशी व्यक्त गरेका छन् ।