गोमा ढुंगाना/संगालोखबर

धनकुटा । भारतबाट फर्किएका धनकुटाको सहिदभूमी गाउँपालिकाका एक युवामा बुधबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मजदुरी गर्ने क्रममा भारतको उत्तर प्रदेश गई केही दिन अघि घर फर्किएका २७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

Advertisement

गत जेठ १३ गते घर फर्किएका सहिदभूमीका चार जनाको बिराटनगर स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा स्वाब परिक्षण गर्दा उनकोे पीसीआर रिपोर्ट पोजिटिभ आएको सहिदभूमी गाउँपालिका अध्यक्ष मनोज राईले बताए । उनमा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पनि पुष्टि गरेको छ । तर, उनीसँगै भारतबाट फर्किएर क्वारेन्टाइनमा रहेका अन्य तीन जनाको भने पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

सहिदभूमीमा कोरोना संक्रमण देखिएका युवा शुरुमा सामान्य विरामी भएपनि अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ । संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि लैजाने तयारी गरिएको छ । सहिदभूमीमा अहिले १७ जना क्वारेन्टाइनमा छन् ।

सहिदभूमी गाउँपालिकाका ती युवामा कोरोना संक्रमण देखिएसँगै धनकुटामा कोरोना संक्रमितको संख्या ८ पुगेको छ । यसअघि धनकुटामा चार स्वास्थ्यकर्मी, दुई सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका एक आफन्तमा कोरोना संक्रमण पुष्टि भएको थियो । विराटनगरस्थित कोरोना विशेष अस्पतालमा उनीहरुको उपचार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement