गोमा ढुंगाना/संगालोखबर

बिराटनगर । काठमाडौंको जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मीमाथि भएको हातपातको बिरोधमा बिराटनगरका स्वास्थ्यकर्मीहरु पनि आन्दोलित भएका छन् । उनीहरुले स्वास्थ्यकर्मीमाथि भएको हातपातको बिरोधमा प्रदर्शन गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका हुन् ।

Advertisement

घटनाको बिरोधमा प्लेकार्ड बोकेर उत्रिएका दर्जनौं स्वास्थ्यकर्मीले बिराटनगरको कञ्चनबारी स्थित नोबेल शिक्षण अस्पताल परिषरमा प्रदर्शन गरेका छन् । उनीहरुले स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कारबाहीको माग गर्दै नारा लगाएर प्रदर्शन गरेका हुन् ।

प्रदर्शन पश्चात सामाजिक बिकास मन्त्रालय पुगेको स्वास्थ्यकर्मीको टोलीले मन्त्री घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएको हो । नेपाल चिकित्सक संघका जुनियर डाक्टर कमिटी सदस्य डा.हिमलाल भण्डारीले सामाजिक बिकास मन्त्री घिमिरेलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै डिउटीमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कारबाहीका लागि पहल गर्न आग्रह गरे । स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कारबाही नभएसम्म दवावमूलक आन्दोलन जारी राख्ने स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।

गत जेठ १४ गते काठमाडौंको जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले इमर्जेन्सीमा कार्यरत स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए । घटनामा संलग्नलाई कारबाहीको दायरामा नल्याईएको भन्दै अहिले देशभरका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् । कोरोनाको महामारीका बेला ज्यान जोखिममा राखेर फन्टलाईनमा काम गर्दा उल्टै हातपात गर्ने र दोषीलाई कारबाही नगरिनुले कानुनी राज्यको उपहास भएको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement