गोमा ढुंगाना/संगालोखबर

बेलबारी । मोरङको बेलबारी–२ मा जनयुद्ध संग्रहालयको शिलान्यास गरिएको छ । जनयुद्ध स्मृति प्रतिष्ठान नेपालले बनाउन लागेको संग्रहालयको मंगलवार शिलान्यास गरिएको हो ।

Advertisement

प्रतिष्ठानका अध्यक्ष शावित्रीकुमार काफ्ले, नेकपा मोरङका इन्चार्ज घनेन्द्र बस्नेत र बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले संयुक्त रुपमा संग्रहालयको शिलान्यास गरेका हुन् । बेलबारी नगर प्रमुख सुवेदीले संग्रहालय बनाउँन आठ बिगाहा जग्गा दान गरेपछि सोही जग्गामा संग्रहालय बनाउँने प्रकृया थालिएको हो ।

कम्युनिष्ट आन्दोलन र जनयुद्धको इतिहास झल्कने गरी संग्रहालय निर्माण गर्न लागिएको जनयुद्ध प्रतिष्ठानका अध्यक्ष काफ्लेले बताए । उनका अनुसार संग्रहालयमा जनयुद्धसँग सम्बन्धित सामाग्रीहरु राखिने छ ।

शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांगे्रसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला, मदन भण्डारी, पुष्पलाल श्रेष्ठ तथा विभिन्न समयमा सहिद भएकाहरूको सालिकसमेत संग्रहालयमा राखिने जनयुद्ध प्रतिष्ठानले जनाएको छ । संग्रहालयसँगै पार्क पनि निर्माण गरिनेछ ।

सो क्रममा बोल्दै प्रतिष्ठानका उपाध्यक्षसमेत रहेका बेलबारी नगर प्रमुख सुवेदीले संग्रहालयलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement