- गोमा ढुंगाना/संगालोखबर

बिराटनगर । शनिवार संखुवासभामा कोरोना संक्रमित भेटिएसँगै प्रदेश नं.१ मा कोरोना संक्रमण फैलिएका जिल्लाको संख्या ९ पुगेको छ । बिराटनगर स्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा संखुवासभाको खाँदबारीका २३ बर्षीय पुरुष र पाँचखपनका २२ बर्षीय पुरुषमा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

संखुवासभाका दुई र झापाका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६० पुगेको छ । जसमध्ये ३० जना उपचार पश्चात निको भएर अस्पतालबाट डिस्चार्ज भईसकेका छन् ।

प्रदेश १ मा सबैभन्दा बढी झापामा १०६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै उदयपुरमा ३३, धनकुटामा ७, मोरङ ६, सुनसरीमा ३ र संखुवासभामा २ जनामा संक्रमण देखिएको हो । यता खोटाङ, भोजपुर र सोलुखुम्बुका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म उदयपुरका २७ जना, झापाका २ जना र भोजपुरका १ जना निको भएर अस्पतालबाट डिस्चार्ज भईसकेका छन् ।

बाँकी १३० जनाको उपचार भईरहेको छ । प्रदेश १ का १४ जिल्ला मध्ये पाँचथर, ईलाम, तेह्रथुम, ताप्लेजुङ र ओखलढुंगामा कोरोना संक्रमित भेटिएका छैनन् ।

हालसम्म नेपालका ५५ जिल्लामा कोरोना संक्रमण फैलदा संक्रमितको संख्या १४ सय १ पुगेको छ भने ६ जना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । संक्रमित मध्ये २१९ जना डिस्चार्ज भएकाले ११ सय ७६ जनाको उपचार भईरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!