- संगालोखबर सम्वाददाता

धनकुटा । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि सिल गरिएको धनकुटा जिल्ला अस्पताल आईतबारबाट पुनः सञ्चालनमा आएको छ । गत सोमबारबाट सिल भएको जिल्ला अस्पतालमा धरान स्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डाक्टरको टोली ल्याएर एक साता पछि पुनः उपचार सेवा सञ्चालन गरिएको हो । यता, सहकर्मीलाई कोरोना संक्रमण देखिएपछि धनकुटाका डाक्टरसहित स्वास्थ्यकर्मीहरु क्वारेनटाइनमा बसेका छन् ।

Advertisement

गत आईतबार जिल्लामै पहिलो पटक धनकुटा अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भेटिएपछि जिल्ला अस्पतालसहित आसपासको क्षेत्र सिल गरिएको थियो । बिरामीको समस्यालाई मध्यनजर गर्दै अस्पताल र आसपासको क्षेत्र निर्मलीकरण गरेर पुनः सेवा सूचारु गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी राजन पोखरेलले जानकारी दिए । ‘उपचारका लागि प्रदेश सरकारको समन्वयमा घोपाबाट ३ डाक्टर र ४ स्टाफ नर्शको टोली आएको छ । उहाँहरुले नै ओपीडी सेवा प्रदान गर्दै हुनुहुन्छ ।’ संगालोखबरसँग उनले भने–‘बिभिन्न पालिकामा रहेका स्वास्थ्य सस्थाबाट अरु स्वास्थ्यकर्मीलाई पनि जिल्ला अस्पतालमा ल्याएर थप सेवा सञ्चालन गर्ने कुरा भएको छ ।’

अहिले भवन बन्द गरेर अस्पतालको प्राङ्गणमा टेन्ट टागेर उपचार सेवा प्रदान गर्न थालिएको छ । धनकुटामा चार स्वास्थ्यकर्मीसहित ७ जनामा कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पतालको उपचार सेवा प्रभावित भएको थियो । संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मीसहित सबैलाई उपचारका लागि बिराटनगर स्थित कोरोना बिशेष अस्पताल लगिएको छ ।

सहकर्मीमा कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पताल प्रमुख डा.पुजन विश्वकर्मासहित स्वास्थ्यकर्मीहरु १४ दिनका लागि क्वारेनटाइनमा बसेका हुन् । जसका कारण जिल्लामा उपचार सेवा प्रभावित भएपछि प्रदेश सरकारको समन्वयमा बीपीबाट बिशेषज्ञ डाक्टरसहितको टोली पठाएर बिरामीको उपचार सेवा सुचारु गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!