- संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश नं.१ मा पीसीआर परीक्षण बढाइने भएको छ । ४० हजार भन्दा बढी व्यक्तिको पीसीआर परीक्षण गर्ने तयारी भएको हो । शुक्रबार बसेको बिपद व्यवस्थापन समिति प्रादेशिक समितिको बैठकले कोभिड—१९ को परीक्षण कार्ययोजनासमेत स्वीकृत गरेको छ ।

Advertisement

प्रदेशभित्र कोभिड—१९ संक्रमित पहिचानको लागि परीक्षणको दायरा बढाउन लागिएको हो । दैनिक एक हजारका दरले पीसीआर परीक्षण गर्न लागिएको मुख्यमन्त्री शेरधन राईले जानकारी दिए । स्वीकृत भएको कार्ययोजनाले स्वाब परीक्षणका लागि जिल्लाहरुको वर्गिकरणसमेत गरेको छ । उच्च जोखिम, जोखिम र सामान्य जोखिम गरी तीन क्षेत्रमा जिल्लागत वर्गिकरण गरिएको छ ।

उच्च जोखिम क्षेत्रमा १ प्रतिशत, जोखिम क्षेत्रमा ०.७५ प्रतिशत र सामान्य जोखिम जिल्लामा कुल जनसंख्याको ०.५ प्रतिशत नागरिकको कोरोना परीक्षण गर्न लागिएको हो । हालसम्म प्रदेश १ मा चार हजार एक सय भन्दा बढीको पीसीआर परीक्षण भइसकेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मातहतको कोरोना सूचना डेक्सले जनाएको छ ।

कोभिड—१९ को नियन्त्रण र उपचार व्यवस्थाको लागि अहिले सञ्चालनमा रहेका बेड क्षमताहरुकोसमेत बृद्धि गरिने भएको छ । यसका लागि कोशी कोभिड अस्पताल १ सय, झापामा २ सय, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ २ सय, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ३ सय, कृष्णदास आश्रम बराहश्रेत्र २ सय र नेपाली सेना इटहरीमा ५० गरी थप ८ सय ५० बेड थपिने भएको छ ।

यसैबीच प्रदेशमा भारतबाट फर्कने नेपाली नागरिकहरुको व्यवस्थापन गर्र्ने संयुक्त कार्ययोजनासमेत स्वीकृत गरिएको छ । स्वीकृत कार्ययोजना अनुसार ईलाम, झापा, मोरङ्ग र सुनसरी जिल्लामा होल्डिङ्ग एरिया पहिचान गरी निर्माण थालिएको छ । होल्डिङ्ग एरियामा १५ हजार बेड संख्या बन्ने भएको छ । ईलाममा २ हजार, झापामा ४ हजार, मोरङ्गमा ५ हजार र सुनसरी जिल्लामा ४ हजार बेड तयार गर्न लागिएको हो । हालसम्म यी जिल्लाका १० ठाउँमा ११ सय ३ वटा बेड बनाईसकिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!