- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटा जिल्ला अस्पताल सिल गरिएपछि धनकुटा–६ स्थित सल्लेरीमा रहेको आँखा अस्पताललाई प्राथमिक उपचार केन्द्र तोकेर बिरामीको उपचार गरिने भएको छ । आज दिउँसो बसेको संकट व्यवस्थापन समितिको बैठकले धनकुटा अस्पतालको बिकल्पमा अस्थायी रुपमा आँखा अस्पतालबाट प्राथमिक उपचार सेवा प्रदान गर्ने निर्णय गरेको हो ।

Advertisement

धनकुटा अस्पतालमा कार्यरत ३४ बर्षीया महिला स्वास्थ्यकर्मीमा आईतबार कोरोना संक्रमण भेटिएपछि सोमबारबाट धनकुटा अस्पताल सिल गरिएको छ । जिल्ला अस्पताल सिल भएपछि बिरामीको उपचार प्रभावित भएको छ ।

जिल्ला अस्पतालको विकल्पमा तत्कालका लागि आँखा अस्पतालबाट प्राथमिक उपचार सेवा प्रदान गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जयराम श्रेष्ठले संगालोखबरलाई जानकारी दिए । ‘अस्पतालमा कोरोना संक्रमित भेटिएर सिल गर्नुपरेकाले तत्कालका लागि अस्थायी रुपमा आँखा अस्पतालबाट प्राथमिक उपचार सेवा प्रदान गर्ने निर्णय भएको छ ।’ श्रेष्ठले संगालोखबरलाई भने–‘स्थिति सहज भएपछि जिल्ला अस्पताल क्षेत्रलाई निर्मलीकरण गरेर पुनः बिरामीको उपचार सेवा जिल्ला अस्पतालबाटै सूचारु गरिनेछ ।’

धनकुटामा मंगलबार साँझ थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएपछि बसेको संकट व्यवस्थापन समितिको बैठकले बिरामीको उपचार सेवा प्रभावित हुँन नदिनका लागि बैकल्पिक उपचार केन्द्र तोकेको हो ।

अब अस्थायी रुपमा आँखा अस्पतालबाट बिरामीहरुलाई सबै किसिमका प्राथमिक उपचार सेवा प्रदान गरिनेछ । उपचारका लागि जिल्लाका अन्य स्वास्थ्य केन्द्रमा रहेका स्वास्थ्यकर्मीलाई झिकाउँने र प्रदेश सरकारसँग पनि स्वास्थ्यकर्मी माग गर्ने निर्णय भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!