धनकुटा । धनकुटा अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि आजबाट धनकुटा बजार क्षेत्र सिल गरिएको छ । आईतबार राती आकस्मिक रुपमा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले गरेको निर्णय अनुसार अनिश्चितकालका लागि अस्पतालसहित आसपासको बजार क्षेत्र सिल गरेर उच्च सर्तकता अपनाईएको हो ।
धनकुटाको सब्जीलाईन, बसपार्क, जिरोपोईन्ट, परिचयमोड, यलम्बर चौक, मधुगंगा सिनेमा हल र त्रिवेणी चौक भित्रको क्षेत्र सिल गरिएको छ । सिल गरिएकोे क्षेत्रमा आवागमन पूर्ण रुपमा निषेध गर्न स्थानीय प्रशासनले बजार क्षेत्रमा सुरक्षाकर्मीको तैनाथी बढाएको छ । ठाउँ–ठाउँमा सुरक्षाकर्मी खटाएर आवागमनमा रोक लगाइएपछि बजार क्षेत्र सुनसान बनेको छ ।
धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आईतबार गरिएको परीक्षणका क्रममा धनकुटा अस्पतालमा कार्यरत ३४ बर्षीया नर्शमा कोरोना संक्रमण भेटिएको हो । धनकुटामा पहिलो पटक कोरोना संक्रमण भेटिएर सिल गरिएपछि सो क्षेत्र सुनसान बनेको हो ।
यसैवीच संक्रमण पुष्टि भएपछि जिल्ला अस्पतालको आईसोलेशनमा रहेकी नर्शलाई उपचारका लागि बिराटनगर स्थित कोरोना बिशेष अस्पताल लग्ने तयारी गरिएको छ । त्यस्तै कोरोना संक्रमितको सम्पर्कमा पुगेकाहरुको पीसीआर परीक्षण गरिने भएको छ । स्थानीय पालिका र वडाहरुले केहि दिन यता जिल्ला अस्पताल पुगेकाहरुको विवरण संकलन थालेका छन् । संक्रमितको कन्ट्राक्ट ट्रेसिङको काम पनि थालिएको छ ।
संक्रमित महिला लकडाउनको अवधिमा अन्यत्र नगएको र नियमित डिउटीमै रहेकाले अन्य संक्रमित बिरामी मार्फत उनमा कोरोना संक्रमण फैलिएको हुनसक्ने अनुमान गरेर धनकुटा बजार क्षेत्रमा थप सावधानी अपनाईएको छ ।
थप तस्वीरहरु हेर्नुहोस्…