विराटनगर । विराटनगरमा काेराेना संक्रमण पुष्टि भएका पुरूष महानगरपालिकाका सफाई कर्मचारी रहेकाे पुष्टि भएकाे छ ।
विराटनगर– १५ का ३६ वर्षिय संक्रमित पुरूष महानगरपालिकाका सरसफाइ कर्मचारी हुन । विराटनगर ६ की संक्रमित महिला भारतबाट केही दिन अघि नेपाल आएकी हुन ।
‘ संक्रमित व्यक्ती महानगरको सफाई कर्मचारी हुनुहुन्छ ।’ वडा नम्बर १५ का अध्यक्ष असलम आलमले भने ‘ हामी अस्पताल पठाउने तयारी गर्दैछौं ।’
अध्यक्ष आलमका अनुसार संक्रमण पुष्टि भएका कर्मचारीकाे घरमा काेही बाहिरबाट आएका छैनन । सफाइ कर्मचारीमा संक्रमणकाे स्राेत खुल्न सकेकाे छैन ।
विराटनगर ६ की २९ वर्षिय महिला केही दिन अघि भारतबाट आएको वडा अध्यक्ष विजय कामतले जानकारी दिए । ‘महिला ४–५ दिन अघि भारतबाट आएकी हुन ।’ उनले भने ‘ स्वाब संकलन गरी पठाएका थियौं, पोजेटिभ आएछ ।’ संक्रमित दुईजनाकै नमुना विराटनगर महानगरपालिकाले गरेको थियो ।
कोरोना संक्रमण पुष्टि भएका दुईजनालाई कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।
आइतबार विराटनगर ६ की २९ वर्षिय महिला, विराटनगर– १५ का ३६ वर्षिय पुरुष र धनकुटाकी ३४ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।