भोजपुर । भारतीय बिस्तारवादको बिरोध गर्दै भोजपुरमा आज भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेत्र गरेको छ । भोजपुरे देशभक्त राष्ट्रवादी जनपक्षीय युवा समुहको अगुवाईमा भएको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरी युवा समुहका संयोजकसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा युवा समुहका संयोजक गोपाल मोक्तान, पर्शुराम तिवारी, कमलजंग बस्नेत, फिणिन्द्र प्रधान र पाविहाङ राई छन् । अतिक्रमण गरेको मातृभूमि फिर्ता गर, कालापानी, लिपुलेक हाम्रो हो, गो व्याक ईण्डिया लेखिएको कालो व्यानरसहित युवाहरु प्रदर्शनमा उत्रिएका थिए । स्थानीय जिरोपोईन्टबाट भारतीय हस्तक्षेत्र बिरुद्ध नारा लगाउँदै प्रदर्शनमा उत्रिएका युवाहरुलाई प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको हो ।
यता, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पाण्डव राजवंशीले लकडाउन उल्लंघन गर्दै प्रदर्शन गरेकाले नियन्त्रणमा लिइएको बताए । ‘भारत बिरुद्ध प्रदर्शनमा उत्रिएका कारणले पक्राउ गरिएको हैन ।’ संगालोखबरसँग प्रहरी निरीक्षक राजवंशीले भने ‘लकडाउनमा कडाई गर्न माथिको निर्देशन आएको हुँनाले प्रदर्शनमा उत्रिएकालाई नियन्त्रणमा लिएका हौं ।’