अछाम । अछामबाट हेलिकप्टरमार्फत उद्धार गरी नेपालगञ्ज रिफर गरिएकी सुत्केरी देउमा साँउदको मृत्यु भएको छ । सुत्केरी भएको २५ दिनपछि अत्याधिक रक्तश्राव भएपछि उनलाई शनिबार उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो ।

Advertisement

नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा उनको शल्यक्रिया हुन नपाउँदै ज्यान गएको उनका श्रीमान मानबहादुर साँउदले जानकारी दिए। उनले भने, ‘अप्रेशन गर्ने तयारीमा थियौ।, अप्रेशन गर्ने कोठामा लग्दै गर्दा ज्यान गइसकेको रहेछ । त्यस बेला नाक मुखबाट पनि रगत बगेको थियो ।’

रामारोशन गाउँपालिका ६ भाटाकाटियाकी २४ वर्षीया साँउदले वैशाख २ गते भाटाकाटिया स्वास्थ चौकीमा छोरीलाई जन्म दिएकी थिइन् । शुक्रबार एक्‍कीसी पेट दुखेपछि उनलाई गाउँकै धामी कहाँ लगेर उपचार गरिएको थियो। धामीले पेटमा देउकाडो(असह्य पेट दुखाई) परेकाले दुखाई निको पार्ने भन्दै पेटमा र ढाडमा हानेपछि केही बेर निको भएपनि त्यसपछि रक्तश्राव सुरु भएको उनका श्रीमान् मानबहादुरले बताए ।

गाउँमा धामी झाँक्रीको भर पर्दा र उपचारका लागि स्वास्थ संस्थामा समयमै पुर्‍याउन नसक्दा उनको ज्यान गएको बयलपाटा अस्पातलका डाक्टर विकास गौचनले बताए । उनले भने, ‘उहाँको धेरै रगत बगिसकेको थियो, पेटमा रगत पनि जमेको थियो, समयमै उपचार नपाउँदा मृत्यु भयो।’ अझै पनि दुरदराजका मानिस धामी झाँक्रीकै भर पर्छन्। – आजको अन्नपूर्ण पोस्टमा गीता कुँवरले यो खबर लेखेकी छन् । 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!