बिराटनगर । बिराटनगरको कोरोना विशेष अस्पतालमा उपचाररत भोजपुर र झापाका दुई जना कोरोना संक्रमित निको भएर अस्पतालबाट आईतबार डिस्चार्ज भएका छन् ।
भोजपुरको हतुवागढीका २६ वर्षीय उपेन्द्र राई र झापाको बाह्रदशीका ४० बर्षीय महाजिर अलाम कोरोना मुक्त भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । फागुन अन्तिम साता साउदीबाट आएका भोजपुरका राईमा वैशाख ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै झापाका अलाममा वैशाख १२ गते संक्रमण देखिएको हो । संक्रमण देखिएपछि उनीहरु दुबै जनालाई बिराटनगरमा राखेर उपचार भईरहेको थियो । उपचारका क्रममा गरिएको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।
यसअघि बिराटनगर स्थित कोरोना बिशेष अस्पतालबाट पहिलो पटक ६ जना र दोस्रो पटक ८ गरी १४ जना डिस्चार्ज भईसकेका छन् । अब प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ भने डिस्चार्ज हुँनेको संख्या १६ पुगेको छ ।
अहिले नेपालमा कुल संक्रमितको संख्या १ सय १० पुगेको छ । जसमध्ये ३३ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमा दुई जनालाई पुनः संक्रमण देखिएपछि उनीहरुको पनि उपचार भईरहेको छ ।