खोटाङ । खोटाङका एक युवाले ढुंगाले हानेर आफ्नै भिनाजुको हत्या गरेका छन् । खोटाङको केपिलासगढी गाउँपालिका–२ का ४७ बर्षीय प्रितिलाल राईलाई आफ्नै सालो २७ बर्षीय मिलन राईले ढुंगाले हानेर हत्या गरेका हुन् ।
बिहिबार साँझ करिव ७ बजे मिलनले प्रहार गरेको ढुंगाले टाउकोमा लाग्दा प्रतिलालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । प्रहरीका अनुसार आफ्नो घरतर्फ जाँदै गरेको अबस्थामा बाटैमा रहेका मिलनले भिनाजु प्रितिलाललाई ढुंगा प्रहार गरेका हुन् ।
भिनाजुलाई ढुंगाले हान्नुको कारण भने खुल्न सकेको छैन । भिनाजुको हत्या गरी फरार रहेका मिलनलाई ईलाका प्रहरी कार्यालय बाक्सिलाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
हत्यामा सघाएको आरोपमा मिलनका भाई २० बर्षीय जीवन राईलाई पनि प्रहरीले पक्राउ गरेको छ । दुबै जनालाई पक्राउ गरेर घटनाको बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यसैवीच तेह्रथुममा पनि बिहिबारसाँझ नै एक युवाले आफ्नै बुवा र सौतेनी आमाको हत्या गरेका थिए ।