विराटनगर । कोरोना संक्रमण भएपछि बिराटनगर स्थित कोरोना बिशेष अस्पतालमा उपचाररत ६ जना भारतीय निको भएर बुधबार बिहान अस्पतालबाट डिस्चार्ज भएका छन् । उदयपुरमा रहदा कोरोना संक्रमण देखिएपछि बिराटनगर ल्याईएका मध्ये ६ जना भारतीय कोरोना मुक्त भएपछि उनीहरुलाई अस्पतालले डिस्चार्ज गरेको हो ।
उदयपुरको भुल्के स्थित मस्जिदमा रहेका बेला कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई वैशाख ५ र ६ गते बिराटनगर ल्याईएको थियो । उपचारका क्रममा तीन पटकसम्म गरिएको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालमा एक कार्यक्रम गरी उनीहरुलाई डिस्चार्ज गरिएको हो ।
डिस्चार्ज हुनेमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । उनीहरुकै अनुमतिमा पहिचान खुलाईएको हो ।
डिस्चार्ज पश्चात उनीहरुलाई विराटनगर–१६ रानीको मस्जिदमा रहेको क्वारेन्टाइनमा राखिएको छ । नेपाल–भारत दुवैमा लकडाउन जारी रहेकाले उनीहरुलाई भारत पठाउँन समस्या भई तत्कालका लागि क्वारेन्टाइनमा राखिएको मन्त्री घिमिरेले बताए । कोरोना बिशेष अस्पतालमा उपचाररत वाँकी २५ जनाको अवस्था पनि सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।
योसँगै नेपालमा कोरोना मुक्त हुँनेको संख्या २२ पुगेको छ । यसअघि १६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका थिए । तर, तीन जनामा पुनः संक्रमण देखिएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । मंगलबार सात जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ ।