बिराटनगर । बिराटनगर स्थित कोरोना बिशेष अस्पतालमा उपचाररत छ जना कोरोना संक्रमित निको भएका छन् । अस्पतालमा उपचाररत ३१ जना मध्ये छ जना भारतीय नागरिक कोरोना मुक्त भएको अस्पतालले जनाएको छ । उदयपुरको भुल्केमा संक्रमण देखिएपछि उनीहरुलाई वैशाख ५ र ६ गते बिराटनगर ल्याईएको थियो ।
उपचारका क्रममा पछिल्लो तीन पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएकाले स्वास्थ्यकर्मीको सल्लाह अनुसार उनीहरुलाई बुधबार बिहान डिस्चार्ज गर्ने तयारी गरिएको सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए । उनका अनुसार निको भएका भारतीयलाई डिस्चार्ज पश्चात विराटनगर–१६ रानीको मस्जिदमा रहेको क्वारेन्टाइनमा राखिने छ । नेपाल–भारत दुवैमा लकडाउन जारी रहेकाले उनीहरुलाई भारत पठाउँन समस्या भई तत्कालका लागि क्वारेन्टाइनमा राख्न लागिएको मन्त्री घिमिरेले बताए ।
योसँगै नेपालमा कोरोना मुक्त हुँनेको संख्या २२ पुगेको छ । यसअघि १६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका थिए । तर, दुई जनामा पुनः संक्रमण देखिएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । मंगलबार सात जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ ।