
धनकुटा । धनकुटाको हिलेमा पानीको ट्याङ्कीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । आईतबार साँझ ५ बजे घरमै रहेको पानीको ट्याङ्कीमा डुब्दा धनकुटा नगरपालिका–१ हिले स्थित तितुङ टोलका राजिब तितुङकी १८ महिने छोरी सिर्जनाको मृत्यु भएको हो ।
खेल्ने क्रममा पानीको ट्याङ्की भित्र खसेर डुब्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएस्पी ध्रुवकुमार श्रेष्ठले संगालोखबरलाई जानकारी दिए । ‘अभिभावक अन्य काममा व्यस्त भएका बेला खेल्दै जाने क्रममा पानीको ड्रम भित्र खसेर बालिकाको मृत्यु भएको हो ।’ डिएस्पी श्रेष्ठले भने ।
प्रहरीका अनुसार बालिकाका वुवा बैदेशिक रोजगारीमा छन् । उनले पठाएको पैसा निकाल्न आमा बजार गएकी थिईन् । करिव ७५ बर्षीय हजुरवुवा र नातिनी घरमा थिए । हजुरवुवा बस्तुलाई घाँस हाल्न गएका बेला बालिका खेल्ने क्रममा पानीको ड्रम भित्र खसेकी हुन् ।
बस्तुलाई घाँस हालेर फर्किदा नातिनीलाई नभेटेपछि हजुरवुवा खोज्न छिमेकमा पनि पुगेका थिए । तर, खोजि गर्ने क्रममा पानीको ट्याङ्की भित्र उनको शव भेटिएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएपछि हिले प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल गएको थियो । मृतक बालिकाको शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको छ ।