धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–३ कृषि फर्म नजिक जीप दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । पाख्रीवास नगरपालिका कार्यालयको को.१ झ.६६४ नम्बरको जीप गएराती करिव साँढे ८ बजे हिले–पाख्रीवास सडक खण्डमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी जीप चालक पाख्रीवास नगरपालिका–३ का ३३ बर्षीय मनोज कुमार राई र जीपमा सवार भोजपुरको गोगने घर भई पाख्रीवास–४ मा बस्दै आएका १४ बर्षीय सुदिप परियार घाईते भएका छन् ।
त्यस्तै सडकबाट जीप खसेको देखेपछि आत्तिएर भाग्ने क्रममा लड्दा महालक्ष्मी नगरपालिका–७ घर भई पाख्रीवास बस्दै आएका २४ बर्षीय बसन्तराज श्रेष्ठ पनि घाईते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता ध्रुबकुमार श्रेष्ठले संगालोखबरलाई जानकारी दिए ।
घाईते तीनै जनाको स्थानीय पाख्रीवास पोलिक्निकमा उपचार भइरहेको छ । पाख्रीवास नगरपालिकाका मेयर बिर्षबहादुर राईलाई घर पुर्याई पम्पबाट तेल हालेर पाख्रीवास बजारतर्फ फर्कने क्रममा जीप दुर्घटना भएको हो ।
धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काका अनुसार ब्रेक फेल भई सडकबाट जीप करिव ४० मिटर तल खसेको छ ।