रबिन कटेल/संगालोखबर
फाइल तस्वीर

धनकुटा । लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका धनकुटेलीलाई लिन पठाईएको गाडी रित्तै फर्किएको छ । स्थानीय तहसँगको समन्वयमा जिल्लाबासीलाई ल्याउँन धनकुटाबाट काठमाडौं पठाइएको गाडी बाटोबाटै रित्तै फर्किएको हो ।

जिल्ला प्रशासनको पासबिना आवतजावत गर्न नदिने भनेर कडाई गरिएपछि गाडी फर्काइएको बस व्यवसायी बिष्णु दाहालले बताए । काठमाडौंमा अलपत्र परेका धनकुटेलीलाई ल्याउँन ४ वटा बस पठाइएको थियो । तर, बस इटहरीमै रोकिए । त्यसपश्चात धनकुटा फर्काइएको हो ।

Advertisement

यसअघि स्थानीय तहको पत्रका आधारमा बसले अलपत्र परेकालाई ओसार्दै आएका थिए । सोहि अनरुप सोमबार बेलुका १ सय ४ जनालाई लिएर काठमाडौंबाट हिडेका दुई वटा बस मंगलबार अपरान्ह धनकुटा आइपुगेका छन् । तर, गृह मन्त्रालयले लकडाउन थप कडाई गर्ने निर्णय गरेर सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेपछि मंगलबारबाट सवारी आवतजावतमा कडाई गरिएको छ ।

अहिले अत्यावश्यक बाहेकका सवारीलाई पास दिईएको छैन । गृह मन्त्रालयको निर्देशन अनुसार पास नभएका सवारीलाई आवतजावतमा पनि थप कडाई गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले संगालोखबरलाई बताए । ‘गृहले जे भनेको छ हामीले त्यहि अनुसार गर्नुपर्छ । अहिले मान्छे ओसार्ने सवारीलाई पास दिन सक्ने अवस्था छैन । हामीले कडाई गरेका छौ ।’ उनले भने ।

आवतजावतमा कडाई गरिएपछि सयौं मानिस काठमाडौंमै रोकिएका छन् । धनकुटाबाट गएको गाडी फर्किएपछि काठमाडौंमै पनि ९ वटा गाडीको व्यवस्था मिलाइएको थियो । तर, प्रशासनको पास प्राप्त नहुँदा गाडी पठाउन नसकिएको धनकुटा–काठमाडौं कोरोना विपद सहयोग समितिका संयोजक हेमराज भण्डारीले बताए । यता, धनकुटाका प्रदेश सांसद निरन राईले पनि गृहले कडाई गरेपछि अलपत्र जिल्लाबासीलाई गाउँ फर्काउँन समस्या भएको बताएका छन् ।

अलपत्र जिल्लाबासीलाई लिएर मंगलबार ९ वटा र बुधबार ४ वटा गाडी काठमाडौंबाट धनकुटा हिड्नेगरी तयारी गरिएको थियो । सोहि अनुसार घर फर्कन तयार भएर बसेका सयौं धनकुटेली गाडी पास नभएकै कारण घर आउँनबाट बन्चित भएका छन् । एक महिना भन्दा बढीको लकडाउनले काठमाडौंमा भोकभोकै बस्नुपर्ने अवस्था भएर बिजोग भएपछि उनीहरु घर फर्किन हारगुहार गरिरहेका छन् । तर, सरकारले राजधानीबाट बाहिरिन अघोषित रुपमा लकडाउन खुकुलो बनाएका बेला समयमै उद्धारको काम नगरिदा उनीहरुको बिजोक भएको छ ।

मंगलबार घर फर्कन पाउँने आसमा उनीहरु गाडी कुर्न सकडमा निश्किएका थिए । तर, अन्तत: गाडी नहिड्ने भएपछि निरास भएर फर्कनु परेको धनकुटाको आँखिसल्लाका छवि राईले गुनासो पोखे । ‘१५ दिन अघिदेखि गाडीको व्यवस्था हुन्छकी भनेर चार चौरास बुझ्यौ । गाडी जान्छ भन्ने भएपछि झोला बोकेर सडकमा निश्किएका थियौ ।’ गुनासो गर्दै उनले भने ‘दिनभर गाडी कुरेर बसेपछि बेलुका गाडी नहिड्ने खबर पाएर त्यसै फर्कनु पर्यो ।’ छवि एक प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्ता सयौं धनकुटेलीले जिल्ला फर्कन नपाउँदा काठमाण्डौमा अलपत्र पर्नुपरेको गुनासो गरिरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!