बेलबारी । मोरङको बेलबारी नगरपालिकाले काठमाडौंमा अलपत्र परेका तीन सय भन्दा वढी नगरबासीलाई उद्धार गरेर घर फर्काएको छ । लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका ३ सय १५ जनालाई घर फर्काइएको हो ।
काठमाडौंबाट ५ वटा बसमा राखेर उनीहरुलाई निःशुल्क रुपमा घर पुर्याउँने व्यवस्था मिलाइएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । बिद्यार्थी, मजदुर तथा विभिन्न कामले काठमाडौं गएर लकडाउनमा रोकिएर अलपत्र परेकाहरुलाई ल्याएर स्वास्थ्य परीक्षण गरी घर पठाइएको हो ।
ज्वरो परीक्षण गर्दा उनीहरुको अवस्थामा सामान्य पाइएको छ । सबैलाई स्वास्थ्यकर्मीको सम्पर्कमा रहेर १४ दिन होम क्वारेन्टाइनमा बस्न आग्रहसहित घरसम्मै गाडीबाट पुर्याइएको नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले बताए ।
अलपत्र परेकाहरुले घर फर्कन पाउँदा खुशी व्यक्त गरेका छन् । ‘महिना दिन भन्दा बढीको लकडाउनले हाम्रो बिजोग भएको थियो ।’ उद्धार गरिएकी रेजिना गौतमले भनिन् ‘हामीलाई गाउँ फर्काएर नगरपालिकाले स्थानीय सरकारको जिम्मेवार भूमिका देखाउँदा साह्रै खुशी लागेको छ ।’