
ताप्लेजुङ । ताप्लेजुङको श्रीजंगा गाउँपालिका–२ मा आज ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सह–चालक घाइते भएका छन् । खादिम्बेतर्फ खाद्यान्न लिन जाँदै गरेको प्रदेश १–०१–००१ त.८२४८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा परी ट्याक्टर चालक पाँचथरको हिलिहाङ गाउँपालिकाका २२ बर्षीय निर्मल लामिछानेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
दुर्घटनामा परी ट्याक्टरका सह–चालक स्थानीय १९ बर्षीय रुद्र पौडेल घाईते भएका छन् । घाइते पौडेललाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको छ ।
बिहान करिव ११ बजे अनियन्त्रित भई ट्याक्टर सडकबाट झण्डै १ सय मिटर तल खसेको छ ।