संगालोखबर संवाददाता

धनकुटा । धनकुटा नगरपालिका–२ भीरगाउँका प्रदीप तामाङले आफ्नै प्रेमिकालाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा उनीबिरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ ।

Advertisement

छथर जोरपाटी गाउँपालिका–१ हात्तिखर्ककी १८ बर्षीया बर्षा तामाङलाई मानसिक तनाव दिएर आत्महत्या गर्न बाध्य पारेको आरोपमा २४ बर्षीय प्रदीपबिरुद्ध जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको हो ।

बर्षाको परिवारले जिल्ला प्रहरी कार्यालयमा दिएको किटानी जाहेरी र घटनाको प्रकृतिका आधारमा प्रदीपबिरुद्ध अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरिएको धनकुटाका प्रहरी प्रवक्ता डिएस्पी ध्रुवकुमार श्रेष्ठले संगालोखबरलाई जानकारी दिए ।

सम्भवतः जिल्लामा पहिलो पटक आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको हो । ‘धनकुटामा पहिलो पटक आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको हुनुपर्छ ।’ डिएस्पी श्रेष्ठ भन्छन्–‘यो भन्दा अगाडी धनकुटामा आत्महत्या गर्न बाध्य पारेको आरोपमा मुद्दा दर्ता भएको थाहा छैन ।’

यस्तो छ घटनाको प्रकृति

बैशाख ४ गते दिउँसो करिव ११ बजे हात्तिखर्क स्थित घर नजिकै अम्लिसो घारीमा रहेको दुदिलोको रुखमा झुण्डिएको अवस्थामा बर्षा मृत भेटिएकी थिईन् । धनकुटा बहुमुखी क्याम्पसमा अध्ययनरत उनी परिवारसँग सम्पर्कबिहिन भएको भोलिपल्ट मृत भेटिएकी हुन् । बर्षा परिवारसँग सम्पर्कबिहिन भएका बेला प्रदीप हात्तिखर्क पुगेका थिए ।

बर्षाका दाजु सागरका अनुसार दुई बर्ष अघिदेखि प्रेम सम्बन्धमा रहेका बर्षा र प्रदीपबीच एक बर्ष यता सम्बन्धमा खटपट आएको थियो । प्रदीपको व्यक्तिगत अचरणको कारण देखाउँदै बर्षा प्रेम सम्बन्धबाट टाढिन खोजेकी थिईन् । ‘एक बर्ष अघिदेखिनै मेरी बहिनीले प्रदीपलाई छोड्न खोजेकी रहेछ । तर, प्रदीपले तँ मेरो हुन्नस् भने अरुको पनि हुन दिन्न भनेर धम्क्याउँने गरेको फोन रेकर्ड र एसएमएस हामीले भेटेका छौ ।’ बर्षाका दाजु सागरले संगालोखबरसँग भने ‘बहिनीले छोड्न खोज्दा मार्छु भनेर पटक-पटक धम्क्याउँनु, बहिनी हराएको बेला प्रदीप हाम्रै गाउँमा हुनु र बाहिनीको लास घुँडा टेकेको अवस्थामा झुण्डिएको भेटिनुले आत्महत्या नभई हत्या भएको प्रष्ट देखिन्छ ।’

हत्याको प्रसस्तै आधार भएपनि प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेकोप्रति उनले आश्चर्य व्यक्ति गरे । यता, हत्याको आधार नदेखिएकाले आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरिएको प्रहरीको भनाई छ । प्रदीपका बुवा चन्द्रलाल तामाङ पनि आरोप गलत भएको तर्क गर्दै घटनाको प्रकृति हेर्दा हत्या र आत्महत्या दुरुत्साहन दुवै नदेखिने दावी गर्छन् । ‘बर्षा हराएको दिन मेरो छोरा र बर्षाको भेट भएकै छैन । उल्टै मेरो छोरालाई बर्षाको दाजुले घरमा दिनभर राखेर कुटपिट गरेको छ । पछि हामी प्रहरीसहित गएर ल्याएका हौं । भोलिपल्ट बर्षाको शव भेटियो । यसमा हत्याको कुनै आधार नै छैन ।’ चन्दलाल भन्छन् ‘घटनाको प्रकृति हेर्दा मेरो छोराले आत्महत्या दुरुत्साहन गरेको पनि देखिदैन । प्रदीपलाई दाजुले कुटपिट गरेको र परिवारको तनाबले बर्षाले आत्महत्या गरेको हुनसक्छ ।’

प्रदीपलाई जिल्ला प्रहरीको हिरासतमा राखेर घटनाको बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । आत्महत्या दुरुत्साहन मुद्दा प्रमाणित भएमा ५ बर्ष कैद र ५० हजारसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement