संगालोखबर संवाददाता

बिराटनगर । उदयपुरको भुल्केमा मंगलबार एकै दिन ११ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा तीन र धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा आठ जनामा संक्रमण पुष्टि भएको हो ।

Advertisement

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा दिउँसो एक जनामा संक्रमण भेटिएको थियो । पछि पुनः अर्का दुई जनामा पनि संक्रमण देखिएको हो । यता, कोशी अस्पतालबाट वीपीमा पुनः परीक्षणका लागि पठाइएका आठ जनामा पनि संक्रमण देखिएपछि उदयपुरमा मंगलबार एकैदिन ११ जनामा संक्रमण पत्ता लागेको हो । यसअघि उदयपुरमा संक्रमण पुष्टि भएका १३ जना बिराटनगर स्थित कोरोना बिशेष अस्पतालमा उपचाररत रहेकाले अब उदयपुरमा संक्रमितको संख्या २४ पुगेको छ ।

यता, उदयपुरमा एकैदिन ११ संक्रमित थपिएपछि अब मुलुकभर संक्रमितको संख्या ४२ पुगेको छ । जसमध्ये ४ जना निको भएर घर फर्किसकेका छन् । वाँकीको उपचार जारी छ ।

उदयपुर जिल्ला सिल गर्ने प्रदेश सरकारको निर्णय

उदयपुरमा संक्रमितको संख्या ह्वात्तै बढेपछि उदयपुर जिल्लालाई सिल गरिने भएको छ । संक्रमण थप फैलन नदिन प्रदेश सरकारले उदयपुरलाई सिल गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले बताए । उनका अनुसार मंगलबारबाट पुरै जिल्लालाई चारैतिरबाट सील गर्ने निर्णय भएको छ ।

उदयपुर जिल्लाभित्रै पनि अन्य ठाउँमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन तथा उदयपुरबाट अन्य जिल्लामा पनि संक्रमण फैलिन नदिन पूर्ण रुपमा लकडाउन गरी चारै तिरबाट सिल गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement