बिराटनगर । उदयपुरका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालमा गरिएको स्वाब परीक्षणमा पोजिटिभ रिपोर्ट आएपछि वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पुनःपरीक्षण गरिएको थियो । बीपीमा पीसीआर परीक्षण गर्दा पनि उनीहरुमा कोरोनाको संक्रमण देखिएको स्रोतले जनाएको छ ।
यसअघि आजै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उदयपुरका एक जनामा संक्रमण भेटिएकाले उदयपुरमा संक्रमितको संख्या २२ पुगेको छ । योसँगै नेपालमा संक्रमितको संख्या ४० पुगेको हो ।
केहि दिन अघि उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदका १३ जनामा संक्रमण पुष्टि भएर उनीहरु अहिले बिराटनगर स्थित कारोना बिशेष अस्पतालमा उपचाररत छन् । उनीहरुमा संक्रमण देखिएपछि मस्जिद आसपास क्षेत्रका ६९ जनाको स्वाब संकलन गरिएको थियो । कोशी अस्पतालमा उनीहरुको पीसीआर परीक्षण गर्दा ८ जनामा पोजिटिभ देखिएपछि क्रसचेकका लागि बीपी पठाईएको भएपनि बीपीमा पनि पोजिटिभ रिपोर्ट आएपछि उनीहरुमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
क्रस भेरिफिकेसन केन्द्रको रुपमा लिइएको वीपीको नतिजालाई अन्तिम नजिता मान्ने गरिएको छ । काठमाण्डौस्थित केन्द्रिय प्रयोगशालासहित पूर्वमा बीपी र पश्चिममा भेरी अस्पतालमा गरिएको परीक्षणको आधारमा मात्र संक्रमण पुष्टि भएको मानिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैवीच संक्रमण पुष्टि भएका ८ जनालाई आईसुलेशनमा राख्नका लागि उदयपुरबाट धरान स्थित बीपी प्रतिष्ठानमा ल्याईएको छ ।