विराटनगर । प्रदेश १ मा सोमबारसम्म तीन हजार २ सय ६८ जनामा कोरोना परीक्षण गरिएको छ । आरडीटी विधिबाट २ हजार ६ सय ९ जना र ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण विधि (पीसीआर) बाट ६ सय ५९ जनाको परीक्षण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ ।
धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुन्छ । प्रदेश सरकारले जिल्लाका क्वारेन्टाइनहरुमा भने द्रुत विधिबाट परीक्षण गरिरहेको छ ।
परीक्षणका क्रममा केहि दिन अघि कोरोना पोजिटिभ देखिएका १३ जनाको बिराटनगर स्थित कोभिड १९ बिशेष अस्पतालमा उपचार भइरहेको छ । आरडीटी परीक्षणमा पोजिटिभ देखिएका झापा, मोरङ, सुनसरी र तेह्रथुमका चार जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या सोमबारसम्म ८ सय २५ पुगेको छ । १० जना डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ८ महिला र २७ पुरुषसहित ३५ जना छन् ।
आइसोलेसनबाट सोमबार दुई जना पुरुष डिस्चार्ज भएका छन् । होम क्वारेन्टाइनमा ४ हजार ३ सय ४३ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।