
धनकुटा । तमोर नदीमा बेपत्ता भएका साँगुरीगढी गाउँपालिका–८ का ६० बर्षीय देवकुमार राईको शव चार दिनपछि फेला परेको छ । गत शुक्रबार दिउँसो करिव २ बजे नदीमा बेपत्ता भएका राईको शव मंगलबार बिहान ९ बजे फेला परेको हो ।
साथीहरुसँग पौडी खेल्ने क्रममा साँगुरीगढी–८ तातोपानीबाट राई नदीमा बेपत्ता भएका थिए । बेपत्ता राईको खोजी भइरहेको थियो । सोहि क्रममा साँगुरीगढी–९ स्थित घुमाउँनेमा उनको शव भेटिएको धनकुटाका प्रहरी प्रवक्ता डिएस्पी ध्रुबकुमार श्रेष्ठले जानकारी दिए ।
बेपत्ता भएको स्थानबाट करिव १ किलोमिटर तल नदी किनारमा तैरिरहेको अवस्थामा राईको शव भेटिएको हो । शवलाई धनकुटा अस्पतालमा पोष्टमार्टम गरी आफन्तले जिम्मा लगाइएको छ ।















